बुधबार, मंसिर १३, २०८०

एमाले कर्णाली अधिवेशनः बिहिबारदेखि बन्द सत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा

  
कर्णाली टाइम्स बिहीबार, असोज ११, २०८०


सुर्खेत। नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनअन्गर्त बिहिबारदेखि बन्द सत्र सुरु भएको छ। बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए। बिहिबार बिहान ८ बजेका लागि बन्द सत्र आह्वान गरिएको भएपनि ढिला गरी बेलुका ५ बजेपछि मात्र सुरु भएको छ।
आन्तरिक तयारी नपुगेका कारण बन्दसत्र ढिला गरी सुरु भएको नेकपा एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ। सहमतिबाट नेतृत्व छनोट गर्ने विषयमा नेताहरु बीचको छलफल लम्बिएपछि बन्दसत्र सुरु हुन सकेको थिएन। छलफलका बावजुद पनि नेतृत्वका विषयमा सहमति हुन सकेको छैन।
यद्यपी निर्वाचन हुने वा सहमतिमै नेतृत्व चयन हुने भन्ने विषयमा पनि यकिन भइसकेको छैन। बन्द सत्रको पहिलो चरणमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गर्ने लगायतका काम गरिनेछ। त्यसपछि मात्र नेतृत्वको विषयमा गहन छलफल गरिने जनाईएको छ।
बुधबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्न सुझाएर काठमाडौं फर्किएका थिए। नेतृत्वका विषयमा सहमति गराउन सुर्खेत बसेका महासचिव शंकर पोखरेल बिहीबार काठमाडौं फर्किएका छन्। उनले पनि सहमतिमै नेतृत्व टुंग्याउन निर्देशन दिएर फर्किएका हुन्।
एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले कालीकोटका मिनबहादुर शाहीलाई समर्थन गरेका छन्। हालका प्रदेश कमिटी सदस्य तथा मान अधिकार एलायन्सका अध्यक्ष भइसकेका शाहीलाई उद्घाटन सत्रपछि ओलीले अध्यक्षमा समर्थन गरेका थिए। शाही प्रदेशबाट स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका नेता हुन्।
प्रदेशबाटै अर्का स्थायी कमिटी सदस्य यामलाल कँडेलले सल्यानका गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजेका छन्। यसअघि प्रदेश सभा सदस्य रहेका शाह पार्टीको केन्द्रीय सदस्य हुन्। निर्वाचन भएमा पनि कँडेल र बोगटीको प्यानल बनेर प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
प्रदेश अधिवेशनको बन्द सत्रबाट ११ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरेको छ। पार्टी सचिव लेखराज भट्टको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरिएको हो।
अध्यक्ष मण्डलको सदस्यमा स्थायी कमिटी सदस्यहरु यामलाल कँडेल, गोरखबहादुर बोगटी, पोलिटब्यूरो सदस्यहरु मोहन बानियाँ, भैरबसुनेदर श्रेष्ठ, लक्ष्मी पोखरेल, केन्द्रीय सदस्यहरु विष्णु रिजाल, निरज आचार्य, धर्मराज रेग्मी, नगिन्द्र शाही (नेशनल), चन्द्रबहादुर विक र मोहनमाया ढकाल छन्।