सुर्खेत। हमास समूहको आक्रमणबाट ईजरायलमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई प्रदेश सरकारले राहतस्वरुप तीन लाख रुपैयाँ दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले ईजरायलमा मृत्यु भएका कर्णाली प्रदेशका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ दिने घोषणा गरेको हो।
असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परि १० जना नेपालीको मृत्यु भएको थियो। उक्त घटनामा मृत्यु भएका कर्णाली प्रदेशका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गर्ने घोषणा भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए। उनका अनुसार ईजरायलमा जोखिममा रहेका नेपालीलाई छिटो उद्दारको लागि नेपाल सरकारलाई आग्रह गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।
बुधबारको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेशमा भएको नेपाल बार एशोसियनको नियमित बार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग घोषणा गरिएको १५ लाख रुपैयाँ अनुमोदन गरेको छ।
यो बर्षको बर्षा सिजनमा विभिन्न प्राकृतिक प्रकोपवाट बालीनालि तथा पशुपंक्षीहरुमा भएको क्षतिपूर्ति स्वरुप कृषकलाई राहत प्रदान गन ६ करोड रुपैयाँ मन्त्रिपरिषद बैठकले स्वीकृत गरिएको उनले जानकारी दिए।
कर्णाली टाइम्स
बुधबार, असोज २४, २०८०