सुर्खेत। दैलेखमा युवाहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा बिहिबार बेलुका ५ बजेतिर भएको झडपमा परि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० बर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको हो।
झडपमा परि घाईते भएका बुढालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल रिफर गरिएको थियो। प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए। झडपमा संलग्नहरुको खोजी कार्य जारी रहेको उनले बताए। झडपमा संलग्न केही व्यक्तिले प्रयोग गरेको मोटरसाईकल भने प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार युवाहरु स्थानीय नै हुन्। मृत्यु भएका युवकको परिवार भने केही बर्षदेखि सुर्खेत बस्दै आएका थिए। गाउँमा जम्मा भएका युवाहरुबीच झडप भएको प्रहरीले जनाएको छ।
मृतकको परिवार सुर्खेतमा बस्ने भएकाले जाहेरी सुर्खेत प्रहरीबाटै जाने प्रहरी निरीक्षक आचार्यले बताए।
कर्णाली टाइम्स
शुक्रबार, कार्तिक १०, २०८०