सुर्खेत। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का शनिबार बिहानैदेखि जाजरकोट भुकम्पका पीडितहरुलाई राहत र उद्दारका लागि खटिए ।
शनिबार उनी सुर्खेतमा बसेर घाइतेहरुकाे उद्दारका लागि समन्वय र सहकार्यमा तैनाथ देखिए । रक्षामन्त्री खड्काले स्वास्थ्यकर्मी र राहतका सामग्री हेलिकप्टर मार्फत सम्बन्धित स्थानमा पठाए । शनिबार साँझ उनले प्रदेश अस्पताल स्थित जाजरकाेट र रुकुमपश्चिमका घाइतेहरुलाई भेटेर स्वास्थ लाभकाे कामना गर्दै उपचारमा कुनै कसर नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।
उनले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताएका छन् । शनिबार सुर्खेतमा उनले भूकम्पबाट घाइतेको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको जानकारी दिए ।
खड्काले घाइतेहरूको उपचारका लागि काठमाडौंबाट कर्णाली पुगेका नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको बताए ।
गम्भीर घाइतेलाई सुर्खेत, नेपालगञ्ज र काठमाडौं लगिएको छ भने सामान्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार भूकम्पमा परी दुइ जिल्लाकै मृत्यु हुनेको संख्या १५७ पुगेको छ । घाइतेको संख्या १७० रहेको छ ।
शुक्रबार राती ११ः४७ मा जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । मध्यराती भूकम्प गएकाले उद्धारमा कठिनाई हुँदा मानवीय क्षति बढी भएको बताइएको छ ।
प्रदेश प्रहरी कार्याल सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि मेडिकल टिमसहित ८५९ जना प्रहरी परिचालन गरिएको छ ।