बुधबार, मंसिर १३, २०८०

जुम्ला विमानस्थल विस्तारसँगै फ्यूल सेन्टर स्थापना गरिने

  
कर्णाली टाइम्स मंगलबार, कार्तिक २१, २०८०

जुम्ला । जुम्ला विमानस्थल विस्तारका साथै फ्यूल सेन्टर स्थापना गरिने भएको छ । यसको लागि प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवालको अगुवाइमा प्रक्रिया सुरु भएको छ । सांसद सेजुवालको उपस्थितिमा सोमबार विमानस्थल विस्तार र फ्यूल सेन्टर स्थापनाका लागि सदरमुकाम खलंगामा सरोकारवालाको बैठक बसेको छ । बैठकले यी दुबै कार्यको लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

जुम्लाका जिल्ला समन्वय समिति प्रमुख गौरिनन्द आचार्य, चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायत, जुम्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधिले स्थलगत अनुगमनसमेत गरेका छन् । ‘हामीले स्थलगत अनुगमन गरेर हालसम्म भएका कामको प्रगति विवरण बुझ्ने र थप कार्य अघि बढाउने निर्णय भएको छ,’ सांसद सेजुवालले भनिन्, ‘अब यसको लागि थप बजेट व्यवस्था गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।’