सोमवार, जेष्ठ १४, २०८१

हिंसाविरुद्ध इरादाको संकल्प, जसले न्याय दिलाउन संस्था स्थापना गर्यो

  
कर्णाली टाइम्स शनिबार, मंसिर ९, २०८०


सुर्खेत। तीन दशकअघि देशको पश्चिमी छेउका मध्य र सुदूरपश्चिम क्षेत्रमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा तथा दुव्र्यवहारको अवस्था भयावह थियो। उसो त अहिले पनि रोकिएको भने होईन। अहिले हिंसाका कैयन् घटनाहरु बाहिर आईहाल्छन्। न्यायका लागि सरोकारवाला र कानुन गुहारिन्छ। समाधानको पहल हुन्छ, परिवारदेखि सामाजिक सञ्जालसम्ममा यस्ता घटनाहरुले स्थान लिन्छन्। त्यतिबेला यो क्षेत्रमा महिलामाथि हुने हिंसाका कुरा बाहिर आउदैनथे। पीडितहरुले आफ्नो व्यक्तिगत समस्या हो भनेर चुपचाप सहने गर्थे।
त्यो दशकमा मध्य तथा सुदूर क्षेत्रमा किशोरी र बालबालिकामाथि पनि उस्तै हिंसा थियो। उनीहरुले पनि कानुनी निकायसम्म पुग्ने बाटो पहिल्याउन सकेका थिएनन्। एकातिर सचेतना नै थिएन, अर्कोतिर तत्कालै सरोकार राखिदिने र समाधानको लागि वकालत गरिदिने संघसंस्था पनि नजिक थिएनन्। बालविवाह र किशोरीहरुले विद्यालय छोड्ने अवस्था त अरु क्षेत्रको तुलनामा दयनीय नै थियो।
त्यो त्यही समय थियो, जतिबेला इरादा पराजुली जागिरको शिलशिलामा सुर्खेत आउनुपरेको थियो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनको कार्यक्रम व्यवस्थापकको रुपमा छनोट भएर उनी सुर्खेतस्थित कार्यालयमा आईन्। सुर्खेतमा कार्यालय थियो। कार्यक्षेत्र भने मध्य र सुदूरपश्चिम क्षेत्रका कयौं दुर्गम जिल्लाहरुमा थियो।
दुर्गम जिल्लामा काम गर्दै जाँदा उनले महिला, किशोरी, बालबालिकामाथि हुने यावत् समस्या नियाल्ने मौका पाईन्। इरादाले ती समस्याको समाधानको भूमिका निर्वाह गर्न सक्ने संस्थाको खाँचो देखिन्, र २४ बर्षअघि खोलिन ‘आवाज’ नामको संस्था। उनले सुर्खेतमा स्थापना गरेको संस्थाले २४ बर्ष पूरा गरेको छ। महिला, किशोरी तथा बालिकामाथि हुने हिंसा, बालविवाह, मानव बेचविखन, बालबालिकामाथि हुने अन्य दुव्र्यवहार जस्ता कानुनी रुपमा निषेधित कार्यविरुद्ध संस्थाले काम गर्दै आएको छ।
इरादा गौतम पराजुलीको माईती घर काठमाडौंको लाजिम्पाट हो। मावली घर गोरखा हो।

सुर्खेत अर्थात् देशको पश्चिम क्षेत्रसँग कुनै नातासम्बन्ध नभएकी उनले सुर्खेतमै संस्था स्थापना गरेर समाजसेवाको थालनी किन गरिन्? यो प्रश्नको उत्तरको सुरुआत् उनको जीवन भोगाईदेखि गरौं।
इरादा गौतम पराजुली गोरखाको जौंबारी गाउँमा जन्मिएकी हुन्। त्यहाँ उनको मामा घर हो। स्वास्थ्य क्षेत्रमा काम गर्ने आफ्ना बुवाको कार्य क्षेत्र गोरखा हुँदा इरादाकी आमा पनि गोरखामै रहेको माईती घरमा बस्थिन्। त्यही समय इरादा पनि त्यहीँ जन्मिईन्।
उनको पढाई पनि गोरखाबाटै सुरु भयो। गोरखामा उनले एसएलसीसम्म पढिन्। सात कक्षामा पढ्दा उनका बुवाको दुर्घटनामा मृत्यु भयो। आमाले उनलाई प्रेरणा र हौसला दुवै दिएर पढाईन्। आमाले सन्तानको शिक्षाका लागि दिएको प्रेरणा र गरेको संघर्षले उनलाई धेरै पाठ सिकाईसकेको थियो।
गोरखामा एसएलसीसम्म्को पढाई सकिएपछि उनी काठमाडौं गईन्। काठमाडौंमा उनले प्रमाणपत्र तहको नर्सिङ विषय पढिन्।
सन् १९८६ मा सेभ द चिल्ड्रेनले स्वास्थ्य क्षेत्रको कर्मचारीको लागि आवेदन मागेको थियो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न पाउने अवसर आएपछि उनले पनि आवेदन दिईन्। छनोट भएर उनले काम पनि सुरु गरिन्। जागिरको शिलशिलामा बाग्लुङ पुगिन्। त्यहाँ बसेर तीन बर्षसम्म काम गरिन्।
जीवनमा साथ दिन सक्ने राम्रो साथी पाएपछि इरादाले २० बर्षको उमेरमै विवाह पनि गरिन्। विवाहपछिका उनका केही बर्ष संघर्षमय बने। परिवार, जागिर सम्हाल्दै पढाईलाई पनि निरन्तरता दिनुप¥यो। परिवारबाट आफ्नो लक्ष्य र उद्देश्यमा कुनै बाधा नआएकाले इरादाले सबै कुरामा समय दिन सकिन्।
‘आमाले पनि सन्तानको पढाईमा कुनै बाधा आउन दिनुभएको थिएन, विवाहपछि पनि परिवारले साथ दिएपछि पढाईलाई निरन्तरता दिन पाएँ,’ उनी भन्छिन्, ‘विवाहपछि सबै कुरा एकसाथ सम्हाल्नुपर्ने भएकाले केही समय जीवन संघर्षपूर्ण भने बन्यो।’
बाग्लुङको जागिर अवधि सकिएपछि उनी पुनः काठमाडौं फर्किइन्। काठमाडौं फर्किएपछि घरपायकको कलेजमा नर्सिङ विषयमै स्नातक तह पढिन्। स्वास्थ्य क्षेत्रको एक तहको डिग्री सकिएपछि इरादाको जागिरको शिलशिला फेरि सुरु भयो। अबको संस्था उही थियो, तह र कार्य क्षेत्र भने फरक थियो।
सन् १९९२ मा सेभ द चिल्ड्रेनले सिन्धुपाल्चोक, बाग्लुङ र सुर्खेतका लागि कार्यक्रम व्यवस्थापक पदमा आवेदन माग गरेको थियो। इरादाले पनि आवेदन दिईन्। अन्तिम परीक्षामा छनोट भएकी उनको कार्य क्षेत्र भने मध्य तथा सुदूरपश्चिम प¥यो। कार्यालय भने सुर्खेतमा थियो।
त्यतिबेला संस्थाको माथिल्लो तहमा भएका कमै महिला कर्मचारीमध्येमा उनी पर्थिन्। ‘त्यसबेला सायद माथिल्लो तहमा महिलालाई लिनुपर्छ भन्ने कुराको विकास भईसकेकै थिएन, म सिनियर पोजिसनमा काम गर्ने नगन्य महिलामध्येमा पर्थें त्यतिबेला।’ उनी सम्झन्छिन्।
उनी सुर्खेत बस्दा सुदुरपश्चिमका जिल्लाहरुमा पुगेर काम गरिन्। अछाम, डोटी लगायत जिल्लामा जाँदा त्यहाँका मानिसले उनलाई ‘काठमाडौंबाट यति टाढा आएर काम गर्ने तपाई पहिलो महिला हो’ भनेर हौसला पनि थपिदिन्थे। जसले उनलाई समाजसेवाप्रति उर्जा थपिदिन्थ्यो। त्यही कुराले दुर्गम क्षेत्रमा समाजसेवाको खाँचो छ भन्ने पनि महसुश गराउँथ्यो।
सेभ द चिल्ड्रेनसँगको पछिल्लो ८ बर्षको इरादाको सहयात्रा सन् २००० मा टुंगियो। त्यतिबेला सेभ द चिल्ड्रेनले नेपालबाट हात झिक्ने कुरा चलिराखेको थियो। तर निरन्तर भईरह्यो।
संस्थासँगको सहयात्रा सकिनुअघि नै उनलाई लागिसकेको थियो– यो क्षेत्रमा महिला, बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको खाँचो छ, म त्यो काम गर्छु।
‘सुर्खेत आएर दुर्गम जिल्लाहरुमा काम गर्दैगर्दा महिला, बालबालिकाको समस्या, लैङ्गिक हिंसा जस्ता कुराले मलाई पिरोलेको थियो, त्यहीबेला भर्खरै द्वन्द्व पनि सुरु भएको थियो,’ विगत सम्झँदै उनले भनिन्, ‘यस्तो अवस्थामा मैंले सुर्खेत छोडेर जानु हुँदैन भन्ने मनमा लागिसकेको पनि थियो, आफूलाई अहिलेसम्म सुर्खेतमा जागिरको रुपमा विताएँ। धेरै कुरा सिक्ने अवसर पाएँ। अब यहाँका महिला र बालबालिकासँग सम्बन्धित समस्या सम्बोधनका लागि वकालत गर्न सक्ने फोरम बनाउनुपर्छ भन्ने महसुश भएको थियो।’


सुर्खेतमा संस्था स्थापना गरेर समाजसेवा गर्ने निर्णय लिनुभन्दा सात बर्षअघि नै इरादालाई समाजसेवामा जीवन विताउनुपर्छ भन्ने लागिसकेको थियो, जतिबेला उनलाई मुटुसम्बन्धि समस्या भएर लामो समय अस्पतालको आईसीयुमा बिताउनुपरेको थियो।
सन् १९९३ मा उनको मुटुको अपरेशन गर्नुपरेको थियो। लामो समय अस्पतालमा बस्नुपर्दा जीवन अन्तिम जस्तो लाग्थ्यो उनलाई। ‘अब बाँचिएछ भने बाँकी जीवन समाज सेवामा लगाउनुपर्छ भन्ने सोच त्यतिबेलै भईसकेको थियो।’ उनले भनिन्।
इरादा सुर्खेत आएपछि आफूले पढेको क्षेत्रको भन्दा फरक अवस्था यहाँका किशोरीहरुको पाईन्। उनी पढ्ने समयमै गोरखा–काठमाडौंतिर किशोरीहरुले विद्यालय छोड्ने दर मध्य र सुदूरपश्चिमको जस्तो थिएन। त्यसको तुलनामा उनले यहाँ यस्तो समस्या भयावह देखिन्। यसको बारेमा अध्ययन पनि गरिन्। मुख्य कारणको रुपमा उनले बालविवाह भएको निक्र्यौल निकालिन्।
यी यावत् समस्या नियालेपछि इरादाले निर्णय लिईन्– समाज सेवा नै गर्नेभए जहाँ त्यसको आवश्यकता छ त्यहाँ गर्नुपर्छ। महिला, किशोरी, बालबालिकाका लागि काम गर्नु नै छ। म सुर्खेतमै संस्था स्थापना गरेर यो क्षेत्रका ती वर्गका लागि काम गर्छु।
सन् १९९९ मा इरादाले ‘आवाज’ नाम राखेर संस्था खोलिन्। दर्ता र सञ्चालको प्रक्रिया पूरा गरिन्।
नयाँ संस्था सञ्चालनमा निकै चुनौती थिए। अन्तर्राष्ट्रिय संस्थामा आर्थिक र व्यवस्थापनका हिसाबले सहज वातावरणमा जागिर गरेकी उनलाई आफूले खोलेको संस्थालाई माथि उठाउन धेरै चुनौतीको सामना गर्नुपर्यो। खोजीखोजी संस्था सञ्चालनको लागि स्रोतहरु जुटाईन्।
दुई जना कर्मचारीबाट धौधौ सुरु गरेको संस्थामा अहिले ४५ जना नियमित कर्मचारी छन्। ७० जना जति आंशिक रुपमा काम गर्ने कर्मचारी छन्।
‘अहिले आएर भने एक खालले महिला, बालबालिकाको क्षेत्रमा काम गर्ने परिचित संस्थाको रुपमा आवाज बन्यो, कर्णालीका दशवटै जिल्लामा संस्थाले काम गरिरहेको छ,’ उनी भन्छिन्, ‘यसबाहेक बर्दीयामा पनि काम गरिरहेका छौं, काठमाडौंमा रहेको सम्पर्क कार्यालयमार्फत सञ्जालहरुले काम गरिरहेका छन्।’
आफूहरुले संस्थामार्फत् सही समयमा महिला र बालबालिकाको लागि सही काम गरेकोले राष्ट्रिय स्तरमा पनि यस्ता विषयमा कर्णालीमा काम गर्ने संस्थाका रुपमा आवाज नै एक नम्बरमा आउने गरेको उनी बताउँछिन्। कर्णालीमा महिला र बालबालिकाका लागि सेल्टर चलाउने संस्थामध्येमा पनि आवाजकै नाम अगाडि आउने गरेको उनले बताईन्।
चुनौती हुँदाहुँदै पनि सुरु गरेको संस्थाले अहिले जुन खालको उपलब्धी हाँसिल गरिराखेको छ, त्यसले इरादालाई खुशी महसुश गराउँछ।
उनका अनुसार अहिले वार्षिक ६०० जना भन्दा बढीले सेल्टरको सेवा लिने गरेका छन्। घरेलु हिंसा, यौन हिंसा, यौन दुर्व्यवहार, बेचविखनमा परेर आएका महिला तथा बालबालिकाहरुले सेल्टरबाट नियमित सेवा लिईरहेको उनले बताईन्। सेल्टरबाट बस्न, खान, मनोविमर्श, कानुनी सेवा उपलब्ध गराईन्छ।
संस्थाले २४ अ‍ै घण्टा ‘१०९८’ नम्बरको बाल हेल्पलाईन सञ्चालन गरेको छ। बालबालिकामाथि कुनैपनि दुर्व्यवहार, हिंसा भईरहेको छ भने जुनसुकै बेला यो नम्बरमा फोन गर्न सकिन्छ। बर्षमा १५ सयभन्दा बढी फोन बाल हेल्पलाईनमा आउने गरेको संस्थापक इरादा बताउँछिन्। समस्यामा परेका महिला तथा बालबालिकालाई प्रहरीले पनि आवाजमै पठाउने गर्छ।
‘अहिले यो क्षेत्रमा महिला र बालबालिकामाथि भएको हिंसाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था भनेको आवाज हो भन्ने परिस्थिति सबैमा सिर्जना भईसकेको छ।’ उनी भन्छिन्।
उनी अगाडि भन्छिन्, ‘लामो समय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा रहेर काम गरिसकेपछि आफैंले स्थापना गरेको संस्थाले राम्रो पहिचान बनाउँदा आफूले जीवनमा गरेको कामप्रति म सन्तुष्ट छु।’
हिंसाको क्षेत्रमा काम गर्नु अरु क्षेत्रभन्दा बढी चुनौतीपूर्ण भएको इरादाको अनुभव छ। उनको अनुभवमा जब हिंसाको कुरा आउँछ, तब त्यहाँ शक्तिशाली भनिनेहरु शक्तिविहीनहरुलाई पराजित गरेर आफ्नो अस्तित्व कायम राख्न खोज्छन्। यस्तो अवस्थामा राजनीतिक दल, शक्तिवालाहरुको पहुँचमा भएका ठूला भनिने व्यक्तिहरुबाट दबाव आउने गरेको उनी बताउँछिन्।
‘हिंसाका क्षेत्रमा काम गर्ने क्रममा समस्या पहिचानदेखि समाधानसम्म ठुलठूला चुनौतीहरु आउँछन्, तर ती चुनौतीहरुलाई हामीले जसरी समाधान गर्न सकेका छौं, यो कर्णाली प्रदेशकै लागि ठूलो उपलब्धी हो जस्तो मलाई लाग्छ।’ उनले भनिन्।
उनलाई सुर्खेतमा संस्था स्थापना गरेर बस्दा धेरैले सोध्छन्– हजुरको माईती यतै हो की? घर जग्गा यतै लिनुभएको छ की?
तर इरादाले त्यस्तो कुनै जोडजाम गरेकी छैनन्, जस्तो मानिसले निरन्तर अनुत्तरित स्वभावमा प्रश्न गर्छन्।
‘मैंले सुर्खेतमै बसेर दुर्गमका जिल्लाहरुमा लामो समय काम गरेको हुनाले यहाँ महिला र बालबालिकासँग सम्बन्धित समस्या धेरै देखेँ, यहीँ आवश्यकता छ भन्ने लागेर संस्था स्थापना गरेकी हुँ,’ उनी भन्छिन्, ‘मानिसले प्रश्न गरेको जस्तो मसँग यहाँ केही छैन, बस यहाँका मानिसहरुको माया पाएकी छु।’
इरादाको दृष्टिकोणमा कर्णाली प्रदेशमा अहिले पनि बालविवाहको अवस्था डरलाग्दो छ। यसलाई न्युनिकरण गर्ने अभियान नै संस्थाबाट चलाईएको उनले बताईन्।
महिला तथा यौन हिंसाको सन्दर्भमा भने पहिलेको तुलनामा अहिले घटना बाहिर आउने गरेको उनी बताउँछिन्।
‘पहिले हिंसाको कुरा कसैलाई थाहै थिएन, यो मेरो व्यक्तिगत समस्या हो भनेर बुझ्थे। यसलाई कानुनले निषेध गरेको छ भनेर थाहा थिएन,’ इरादा भन्छिन्, ‘अब धेरैले बुझे, सञ्चार र प्रहरी प्रशासनसम्म पहुँच पनि पुग्यो, त्यसैले अब यस्ता धेरैजसो घटना सम्बन्धित निकायसम्म पुग्न सकेका छन्।’