सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित व्यवस्थाअनुसार आवश्यक पर्ने कानुनहरु संघ सरकारले बनाउन नसक्दा संघीयतामाथि प्रश्न उठ्ने गरेको बताएका छन्। आईतबार सुर्खेतमा भएको लोकतन्त्रवादी आदीवासी जनजाती महासंघको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले तत्काल संघीयता कार्यान्वयनका लागि चाहिने कानुनहरु निर्माण गर्नुपर्ने बताए।
प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गरिने अधिकार कानुन अभावका कारण स्पष्ट रुपमा प्रत्योजन गर्न नसकिएको बताए।
संघीयता कार्यान्वयनमा देखिएको जटिलतालाई समाधान गर्न नेपाली काँग्रेस सरकारमा हुँदा सुरु गरिएको बताउँदै उपसभापति खड्काले यसको पूर्ण समाधानका लागि सरकारमा काँग्रेसकै नेतृत्व आवश्यक पर्ने औंल्याए।
‘कांग्रेसको नेतृत्वमा ७० वर्षको संघर्षपछि संविधान जारी भएको हो, नयाँ संविधानले गरेको संघीय व्यवस्था पूर्णरुपमा कार्यान्वयन गर्न पनि काँग्रेसकै नेतृत्व आवश्यक पर्छ,’ उनले भने, ‘संघीयता कार्यान्वयनमा आएको यो आठ वर्षको अवधिमा भोगेका अप्ठ्याराहरुलाई संविधान संशोधनमार्फत नै सम्बोधन गर्नुपर्छ।’
उपसभापति खड्काले पार्टीलाई बलियो बनाउनका लागि भ्रातृ संस्था पहिले बलियो हुनुपर्नेमा जोड दिए। आदीवासी जनजाती समुदाय विशेष संस्कृति र सभ्यता बोकेको समुदाय भएकोले यसलाई संगठित गरेको संस्थाले महत्वपूर्ण अर्थ राख्ने उनले औंलाए।
खड्काले आदीवासी जनजाती समुदायको परापूर्वकालदेखिको महत्व लोकतन्त्रवादी आदिवासी जनजाती महासंघले जोगाइराख्नुपर्ने बताए।
उनले बिचार समूहमा जोडिएका सबै सदस्यहरुलाई एकताबद्ध गर्नुपर्ने उनको भनाई थियो।
कर्णाली टाइम्स
आइतवार, बैशाख २३, २०८१