मंगलबार, जेष्ठ २९, २०८१

कालीकोट जाँदै गरेको जिप दुर्घटना, चार जनाको मृत्यु

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ १७, २०८१


सुर्खेत। सुर्खेतबाट कालीकोट जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बिहिबार बिहान २ बजेर ४० मिनेटमा भे १ च २५६० नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्ला नजिकैको टाकुरे मोडमा दुर्घटनामा परेको हो।
दुर्घटनामा कालीकोटको शुभकालिका गाउँपालिका–३ का तन्त कामी, वीरेन्द्र विक, नवराज विक र दैलेखको भैरवी गाउँपालिका–४ का महेन्द्र शाहीको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना राति नै भएपनि आफन्त आउन ढिला भएपछि केही घण्टापछि मात्र मृतकको सनाखत भएको हो।
दुर्घटनामा परि शुभकालिका–३ का नरी कामी र खाँडाचक्र नगरपालिका–९ पाखाका जिप चालक नरेन्द्र विष्ट घाईते भएका छन्। प्रदेश असपताल सुर्खेतमा उपचारारत घाईतेहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए।
भारतबाट आएकाहरुले राति उक्त जीप रिजर्भ गरेर लगेका थिए। दिउँसोको समयमा रातो नम्बर प्लेटका निजी गाडीलाई समितिले यात्रु बोक्न रोक लगाएकाले राति नै हिँडेको अनुमान गरिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाईते भएकामध्ये एक जनाले टेलिफोन गरेर प्रहरीलाई दुर्घटनाको जानकारी गराएका थिए।
प्रहरी निरीक्षक केसीका अनुसार दुर्घटनाको प्रकृति हेर्दा चालक निदाएको हुनसक्ने अनुमान गरिएको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिए।