शुक्रबार, कार्तिक २३, २०८१

पढाउन भन्दै बालबालिकालाई काठमाडौं लिन खोज्ने एक जना प्रहरीको नियन्त्रणमा

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ २२, २०८१


सुर्खेत। बालबालिकालाई पढाउन भनेर काठमाडौं लैजान खोज्ने एक जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छस मुगु र हुम्लाका २८ जना बालबालिकालाई काठमाडौं लिँदै गरेका एक जनालाई प्रहरीले सोमबार राति १२ बजे वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नाम्गेल छिरिङलाई नियन्त्रणमा लिईएको हो। उनीहरुलाई आर्थिक अवस्था कमजोर भएकाले काठमाडौंमा आवाससहितको शिक्षा दिने भनेर लिन लागिएको नियन्त्रणमा रहेका छिरिङको भनाई उद्दृत गर्दै सुर्खेत प्रहरीले जनाएको छ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले बाबुआमाकै आग्रहमा आफूले बालबालिकालाई काठमाडौं लैजान लागेको छिरिङले बताएको सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए। काठमाडौंको कुन शिक्षालयमा लिने भन्ने कुराचाहिँ नखुलेको प्रहरीले जनाएको छ।
उनका अनुसार धेरैजसो बालबालिकालाई सम्बन्धित वडा कार्यालयले पनि सिफारिस बनाईदिएका छन्। बालबालिका कुन पालिका र कति नम्बर वडाका हुन् भन्ने विषयमा भने प्रहरीले भनेको छैन। यो विषयमा थप अनुसन्धान भईरहेको एसपी खड्काले जानकारी दिए।
राति नियन्त्रणमा लिईएका बालबालिकालाई तत्काल व्यवस्थापनको लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँ समन्वय गरिएको छ। बालबालिकालाई लैजाने व्यक्ति भने प्रहरीको नियन्त्रणमै छन्।
सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले ती बालबालिकालाई आ–आफ्नो घरमा फिर्ता गरिने बताईन्। उनका अनुसार २८ मध्ये १२ जना बालक छन् भने १६ जना बालिका छन्।
तत्काल विभिन्न बालबालिकासँग सम्बन्धित निकायसँगको सहकार्यमा बालबालिकाको खाना र आवासको व्यवस्थापन गरिएको उनले जानकारी दिईन्।