शुक्रबार, असोज १८, २०८१

पाँच घण्टापछि गरियो झोलुंगे पुलमा फसेका खच्चडको उद्धार, दुईको मृत्यु

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ २७, २०८१


सुर्खेत। दैलेखमा झोलुङ्गे पुलमा फसेका १३ मध्ये ११ खच्चडको जिवितै उद्धार गरिएको छ। आइतबार दैलेख र अछामबीचमा पर्ने कर्णाली नदीमाथि बनेको झोलुङ्गे पुलमा हिँड्हिँड्नै १३ खच्चड फसेका थिए। पुलको एक छेउका लठ्ठा चुँडिएपछि भारी बोक्न ल्याईएका खच्चड जालीमा फसेका हुन्।
जिवित उद्धार गरिएकामध्ये आठ वटालाई पुलको जाली काटेर नदीमा खसालेर उद्दार गरिएको छ। नदीमा खसालिसकेपछि डुंगामार्फत खच्चडलाई तारेर नदी किनार लगिएको थियो। बाँकी पुलको छेउमा भएको तीन वटालाई डोरीले बाँधेर पुल छेउको जमिनमा लगिएको छ।
नदीको सोझै माथी फसेका खच्चडलाई जाली काटेर नदीमा खसालिएको हो। छेउमा भएका तीन वटालाई जाली काटेर खसाल्दा नदीछेउको बगरका ढुंगामा खस्ने भएपछि उनीहरुलाई डोरी बाँधेर बाहिर निकालिएको दैलेखको आठविस नगरपालिका–६ का वडाध्यक्ष नवराज शर्माले जानकारी दिए।
पुलमा फसेकामध्ये दुई वटा खच्चडको भने मृत्यु भईसकेको छ। वडाध्यक्ष शर्माका अनुसार एउटा खच्चड पुलमै मरिसकेको थियो भने अर्को खच्चडलाई जाली काटेर नदीमा खसालेपछि मृत्यु भएको हो।
आइतबार बिहान दैलेखको आठविस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल विनायक नगरपालिका–९ लाटेकाँडा जोड्ने झोलुंगे पुलमा १३ वटा खच्चड फसेका हुन्। पुलमा खच्चड हिँड्न थालेपछि एकतर्फका लठ्ठा चुडिँदा १३ वडा खच्चड जालीमा छिरेका थिए। लठ्ठा चुडिँएको भागमा पुल कोल्टे परेको छ।
पञ्चदेवलबाट ती खच्च सामान बोक्न दैलेखका राकम बजार ल्याउन लागिएको थियो।
खच्चडको उद्धारका लागि अछाम र दैलेखबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थानीय र सुरक्षाकर्मीको समन्वयमा पाँच घण्टापछि ११ खच्चडको जिवितै उद्धार भएको हो।