सोमवार, जेष्ठ २८, २०८१

मुसिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ २८, २०८१


सुर्खेत। रुकुम पश्चिमको मुसिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार राति साढे ८ बजे मुसिकोट नगरपालिका–१ निपानेमा कर्णाली प्रदेश ०२–००१ च ०४१३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा नगरपालिका–५ का २७ बर्षीय सौगात विक, सुर्खेतको बराहताल गाउँपालिका–५ का १९ बर्षका जीतबहादुर कार्की र जीप चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेलकुनाका धर्मेन्द्र श्रेष्ठको मृत्यु भएको छ।
उक्त जीप सदरमुकाम खलंगाबाट बाँफिकोटको सिमखेततर्फ जाँदै थियो। वर्ल्डलिंक कम्युनिकेशनको फाइबर तार तान्न उक्त गाडी प्रयोग भएको प्रहरीले जनाएको छ। तार तान्ने ठेक्का पाएको कम्पनीले नियुक्त गरेका कर्मचारी गाडीमा सवार थिए।
दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेहरुमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल छन्।
सबै घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको डिएसपी पोखरेलले जानकारी दिए। दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए।