सुर्खेत। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेका छन्।
बुधबार बिहान ११ः १५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको थियो। ३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ। उनको अनुहारमा चोट लागेको छ।
जहाजमा सौर्य एयरलाइन्सकै कर्मचारीहरु रहेका थिए।
जहाजका को–पाइलट एस कटुवालको मृत्यु भएको छ।
अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, प्रिजा खतिवडा, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडाको मृत्यु भएको प्रहरीले जनाएको छ। रेडा यमनी नागरिक हुन्।
सौर्यको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको थियो। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। पोस्टमर्टमपछि शव परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ।
कर्णाली टाइम्स
बुधबार, साउन ९, २०८१