सुर्खेत। कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले हालसम्मको प्रगति सार्वजनिक गरेको छ। समितिका निवर्तमान सभापति तथा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफ्नो कार्यकालमा भएका मुख्य उपलब्धिहरु सोमार सार्वजनिक गरेका हुन्।
मन्त्री भएर गएपछि भण्डारीले आफूले नेतृत्व गर्दासम्म समितिमार्फत गरिएका कामका बारेमा सार्वजनिक गरेका हुन्।
उनका अनुसार समिति गठन भएयता हालसम्म २७ वटा बैठक बसेका छन्। २०८० जेठ १४ गते प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत समिति गठन भएको थियो।
समितिबाट विभिन्न जिल्लाहरुमा संसदीय अनुगमन, निगरानी तथा अन्तरक्रिया, सार्वजनिक सुनुवाई गरिएको भण्डारीले बताए। समितिले आन्तरिक कार्यसञ्चालन कार्यविधि र कानुनको उत्तरविधायिकी परीक्षण, अध्ययन तथा अनुसन्धान सम्बन्धि कार्यविधि बनाएर कार्यान्वयनमा लिएको छ।
समितिले सम्बन्धित सरोकारवाला निकायलाई १५ वटा भन्दा बढी निर्देशन दिइएको भण्डारीले जानकारी दिए। वैशाख १३ गते समितिले विभिन्न कानुनहरुको उत्तरविधायिकी परीक्षण गर्ने निर्णय गरेको थियो। सोहीअनुसार कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ को उत्तरविधायिकी परीक्षण गर्ने काम भईरहेको उनले बताए। ऐनको उत्तरविधायिकी परीक्षण गर्नेक्रममा सरोकारवाला निकाय तथा सर्वसाधारणबाट सुझावका लागि सार्वजनिक अपिल गरिएको उनले बताए।
स्वास्थ्य ऐनको उत्तरविधायिकीका क्रममा दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुकुम पश्चिममा भौतिक उपस्थित भएर छलफल गरिएको छ।
कर्णाली टाइम्स
सोमवार, साउन २१, २०८१