आइतवार, भदौ २३, २०८१

जिल्ला क्रिकेट संघलाई सक्रिय बनाउन साधारणसभा अनिवार्यः क्यान कोषाध्यक्ष खड्का

  
कर्णाली टाइम्स सोमवार, भदौ १०, २०८१


सुर्खेत। नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले जिल्ला क्रिकेट संघहरुलाई सक्रिय बनाउन वार्षिक साधारणसभा अनिवार्य गरिएको बताएका छन्। उनले ४५ वटै जिल्ला संघलाई वार्षिक साधारणसभा गर्न निर्देशन दिईएको बताए।
कोषाध्यक्ष खड्काले तोकिएको समयमा वार्षिक साधारणसभा गर्ने जिल्लालाई प्रोत्सहानस्वरुप थप ५० हजार रुपैयाँ दिने निर्णय गरिएको बताए। ‘कार्यालय सञ्चालनका लागि अहिले संघले जिल्लाहरुलाई वार्षिक एक लाख रुपैयाँ दिँदै आएको छ, समयमै वार्षिक साधारणसभा गर्ने जिल्लालाई थप ५० हजार रुपैयाँ दिने निर्णय भएको छ।’ उनले भने।
कोषाध्यक्ष खड्काले कर्णालीमा पछिल्लो समय क्रिकेटको विकास हुँदै गएको र क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएको बताउँदै क्रिकेटका गतिविधिहरु बढाउनुपर्ने बताए। उनले सुर्खेत जिल्लामा दुई सुविधासम्पन्न क्रिकेट मैदानहरु तयार भएको बताउँदै त्यसको उपयोग गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताए।
सुर्खेत जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन पारित गरिएको थियो भने वार्षिक कार्ययोजना बनाउन नरेशसिं थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ।
समितिले एक महिनाभित्र संघको वार्षिक क्यालेन्डर अनुसार जिल्लाले गर्ने गतिविधिहरु समेटेर कार्ययोजना बनाउनेछ।
जिल्ला अध्यक्ष श्रीधर केसीको अध्यक्षतामा भएको साधाणसभामा कर्णाली प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सूर्यविक्रम थापा ‘विक्रम’, नरेशसिं थापालगायतले आफ्नो भनाई राखेका थिए।