आइतवार, भदौ २३, २०८१

अब कर्णाली प्रदेश अस्पतालबाट पनि क्यान्सरको उपचार हुने

  
कर्णाली टाइम्स बुधबार, भदौ १९, २०८१


सुर्खेत। अब कर्णाली प्रदेश अस्पतालबाट पनि क्यान्सरको उपचार हुने भएको छ। यसका लागि बिपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र कर्णाली प्रदेश अस्पतालबीच मंगलबार सम्झौता भएको हो।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र कर्णाली प्रदेश अस्पतालका तर्फबाट निर्देशक डा. डम्बर खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
असोज १३ गतेबाट क्यान्सरको उपचार सेवा सुरु हुने अस्पतालका निर्देशक डा. खड्काले बताए।
सम्झौतामा क्यान्सरको उपचार सेवा दिनेगरि कर्णाली प्रदेश अस्पतालले पूर्वाधार, उपकरणको व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए। उक्त रणनीतिमा सातवटै प्रदेशमा क्यान्सर निदान सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सहयोगमा सुर्खेतबाटै कर्णालीका जनतालाई क्यान्सर निदान सेवा दिन सकिने प्रदेश अस्पतालका निर्देशक डा. खड्काले बताए। असोज ११ गतेसम्म बिरामीको नाम लेख्ने मिति तोकिएको र १३ गतेबाट सेवा सुरु हुने उनले बताए।
‘सुरुमा भरतपुर अस्पतालको प्राविधिक टिमबाट सहयोग लिएर सेवा विस्तार गरिन्छ, प्रदेश अस्पतालमा प्रविधियुक्त उपकरणहरु भएकाले ठूलो अप्रेसन गर्न सहज हुनेछ।’ उनले भने।