बुधबार, कार्तिक ७, २०८१

राउटे समुदायका वृषबहादुरको मृत्यु, १३४ मा झर्यो जनसंख्या

  
कर्णाली टाइम्स बिहीबार, असोज ३, २०८१


सुर्खेत। राउटे समुदायका २२ बर्षीय युवक वृषबहादुर शाहीको मृत्यु भएको छ। ६ महिना अघिदेखि बिरामी शाहीको बुधबार साँझ मृत्यु भएको हो।
भदौ ३१ गते उनलार्य उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल लगिएको थिया। अस्पतालमा जाँच गराउँदा क्षयरोग देखिएको थियो।
वृषबहादुरको कलेजो, मुटुमा पनि बढी क्षति देखिएकोले अस्पतालले उपचार सम्भव नभएको भनेर डिस्चार्ज गरेको थियो। डिस्चार्जपछि बसोबास भएको स्थानमा लिँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो।
सुरुमा राउटे समुदायले नै वृषबहादुरलार्य उपचार गर्न अस्पताल लिन मानेका थिएनन्। यो समुदायले अस्पतालमा उपचार गराउन नहुने मान्यता राख्दछ। धेरै दिनसम्म समुदायलाई सम्झाइबुझाई गरेपछि मात्र अस्पताल लिन सकिएको राउटे समुदायको शिक्षाको लागि काम गर्ने सोसेकको राउटे परियोजनामा कार्यरत शिक्षक लालबहादुर खत्रीले बताए।
वृषबहादुर राउटे समुदायभित्रको कल्याल समूहका मुखिया बिरबहादुरका साइँला सन्तान हुन्। यो समुदायमा कल्याल, रास्कोटी र शोवंशी समूह छन्।
घुमन्ते जीवन विताउने राउटे समुदाय हाल दैलेखको गुराँस गाउँपालिका–१ स्थित सिमेसाल भन्ने ठाउँमा बस्छन्।
वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसंख्या १३४ मा झरेको छ।