बुधबार, बैशाख १०, २०८२

समृद्धिका लागि कर्णाली र लुम्बिनी प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धता

  
कर्णाली टाइम्स शुक्रबार, पुस १२, २०८१

सुर्खेत। कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सरकारबीच प्रदेशको विकास र समृद्धिका लागि साझा प्रतिबद्धता पत्र तयार गरिएको छ। शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण अधिकारीबीच साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो।

कर्णाली प्रदेश सरकारको निमन्त्रणमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको टोली सुर्खेत आएको थियो। दुई वटा प्रदेश सरकारबीचको छलफलपछि १९ बुँदे साझा प्रतिबद्धता तयार गरिएको हो।

‘संविधानको मुल मर्म र सिद्धान्तका आधारमा दुई प्रदेशको अन्तरआवद्धता र सहकार्यलाई सुदृढ गर्दै कर्णाली र लुम्बिनी प्रदेशको समग्र विकास तथा समृद्धिका लागि हामीले प्रतिबद्धता व्यक्त गरेका छौं, यसैअनुसार दुवै प्रदेश सरकार अघि बढ्छौं।’ कर्णालीका मुख्यमन्त्री कँडेलले भने।

प्रदेशबाट तर्जुमा हुने रभएका काुनको बारेमा पारस्परिक सहयोग, समन्वय तथा सहकार्य गरेर एकरुपता कायम गर्ने, प्रदेश कानुनअनुसार लगाईने करका बारेमा दुवै प्रदेशीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोतसाधनबाट संकलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने प्रतिबद्धता गरिएको छ।

भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना छिटो सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट संघ सरकारसँग समन्वय गर्ने, आयोजना निर्माणका क्रममा स्थानीय स्तरमा देखा परेका विवाद समाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता कर्णाली र लुम्बिनीका मुख्यमन्त्रीले गरेका छन्।

अन्तरप्रदेश जोड्ने सडक पूर्वाधारहरु जमुनाह–हिल्सा सडक, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, राप्ती लोकमार्ग, कोहलपुर–सुर्खेत सडक निर्माण तथा विस्तारका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरेर साझेदारीमा काम गर्ने प्रतिबद्धता गरिएको छ।

कोहलपुर–बबई तथा बबई–कोहलपुर सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता दुई प्रदेशका मुख्यमन्त्रीले गरेका छन्।

लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णालीका हिमाली जिल्लाहरुमा नियमित हवाई उडान गर्न पहल गर्ने, भैरहवा–सुर्खेत हवाई सेवा सञ्चालन गर्न संघ सरकारसँग अनुरोध गर्ने, कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाईन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने, दुवै प्रदेशको वृहत्तर हितमा हुने सहलगानीमा सञ्चालन गर्न सकिने ठूला आयोजनाको पहिचान गर्ने, विपद व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयमार्फत काम गर्ने सहमति दुई प्रदेश सरकाबीच भएको हो।

यस्तै लागुऔषध ओसारपसार प्रभावकारी रुपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्ने, लुम्बिनीमा आउने धार्मिक पर्यटकहरुलार्य कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्नेगरि एकीकृत पर्यटन मार्ग निर्माणका लागि गुरुयोजना बनाउने, लगानीमा सहकार्य गर्ने, दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माण गर्न निजी क्षेत्रसँग समन्वय गर्ने, दुवै प्रदेशका सीमानामा रहेका नदीनालाहरुमा जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार, खानेपानी तथा सिंचाइँ संरचना निर्माण गर्न समन्वय गर्ने प्रतिबद्धता गरिएको छ।

प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारको निर्माण गर्न सहलगानी गर्ने, बर्दियाको बाँसगढी नगरपालिका–१ र सुर्खेतको भेरीगंगा नगरपालिका–५ को साँध सिमानाको विवाद कानुन अनजुसार समाधान गर्न नेपाल सरकारलाई अनुरोध गर्ने प्रतिबद्धता गरिएको छ।

दुवै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रुपमा निर्धारण गर्ने र सडक दुर्घटना जोखिम न्युनिकरणका लागि अनुगमन तथा निरीक्षण गर्ने, कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारी र अरु उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजारहरुसम्म पु¥याउन समन्वय गर्ने प्रतिबद्धता गरिएको छ।

दुवै प्रदेशको विकास, समृद्धि तथा सुशासन प्रवद्र्धनका लागि सूचना प्रविधिको माध्यमबाट सेवाप्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग तथा समन्वय दुई प्रदेशबीच गर्ने प्रतिबद्धता गरिएको छ।