बिहीबार, माघ २४, २०८१

यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषदले गरेका १८ निर्णय

  
कर्णाली टाइम्स शुक्रबार, पुस १९, २०८१


सुर्खेत। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदले विभिन्न १८ वटा निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद वैठकले जलविद्युत आयोजनाको शेयर खरिददेखि दोस्रो पञ्चबर्षीय योजना पारितसम्मका १८ वटा निर्णय गरेको हो।

कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुने १२० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ अर्धजलासययुक्त जलविद्युत आयोजनाको शेयर किन्ने निर्णय भएको छ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशन माघ ७ गते आह्वान गर्ने, लुम्बिनी सरकार र कर्णाली सरकारबीच विकास तथा समृद्धिका लागि गरिएका प्रतिबद्धता अनुमोदन गर्ने, बालसुधार गृह स्थापना तथा सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद वैठकबाट गरिएको हो।

कर्णाली प्रदेश सरकारको दोस्रो पञ्चबर्षीय योजना पनि शुक्रबारको मन्त्रिपरिषदबाट पारित गरिएको छ।

कर्णाली प्रदेश आमसञ्चार व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाका लागि बनेको सैद्धान्तिक अवधारणापत्र स्वीकृत गर्ने, कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधि, २०८१ स्वीकृत गर्ने, कर्णाली प्रदेश सरकार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने, कर्णाली प्रदेश जीवनाशक विषादी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको सरकारका पवक्ता एवम कृषि मन्त्री विनोदकुमार शाहले जानकारी दिए।

यस्तै कर्णाली प्रदेश जलचर संरक्षण विधेयक मस्यौदा तर्जुमका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गर्ने, मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम कार्यविधि, २०८१ स्वीकृत गर्ने, कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, वृत्ति मार्गनिर्देशन सेवा केन्द्र सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने, विद्यालय पूर्वधार विस्तार सुधार कार्यक्रम कार्यविधि, २०८१ र महिला उद्यमी पुरस्कार वितरण कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषदबाट गरिएको हो।