सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको परिचय बदल्न युवाहरुले संकल्प गर्नुपर्ने बताएका छन्।
शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु प्रथम कर्णाली युवा महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने बताए।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारलाई निश्चित बजेट र स्रोतसाधनका आधारमा काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।
‘सबै पक्षलाई समेटेर लैजाने प्रयास गरेका छौं, यहाँको विकास र समृद्धिका लागि युवाहरुको सकारात्मक साथ आवश्यक छ,’ उनले भने, ‘मैंले कहिल्यै कर्णालीको शीर निहु¥याउने काम गर्ने छैन्, प्रदेशको विकासमा युवाहरुलाई साथमै राख्नेछु।’
लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्थाविरोधी चिन्तन नराख्न युवाहरुलाई उनले आग्रह गरे।
युवा महोत्सवलाई सम्बोधनका क्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरुलाई निराशाको खेती गरेर नागरिकलाई पछि धकेल्ने काम गर्न नहुने बताइन्।
‘राज्यले काम गर्न सकेन भनेर निराशा छर्ने काम भएको छ, कोभिडजस्तो भयावह अवस्थामा पनि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीले नागरिकको सुरक्षाका लागि फ्रन्टलाइनमा आएर राज्यप्रतिको दायित्व पूरा गरेका छन्,’ उनले भनिन्, ‘युवाहरुले समाजलाई भ्रम छर्ने खालका गतिविधिमा लाग्नु हुँदैन, राम्रा पक्षलाई उजागर गर्ने र गल्ती कमजोरीलाई सच्याउनुपर्छ।’
युवाहरुले विदेश मोह त्याग्नुपर्ने मेयर ढकालले बताईन्।
‘आफ्नो खेतीयोग्य जमिनलाई बाँझो राखेर राज्यलाई गाली गरेर युवाले केही पाउँदैनन्, यस्तो प्रवृत्तिले देशको पनि विकास हुँदैन् ।’ उनले भनिन्।
नेपाली कांगे्रसका युवा नेता भुपेन्द्रजंग शाहीले कर्णालीका नागरिकहरुले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्ने बताए । ‘कर्णालीबारे सोच बदल्न आवश्यक छ, कर्णाली सम्भावनाको क्षेत्र हो,’ उनले भने, ‘कर्णालीको कृषि, पर्यटनमा धेरै सम्भावना भएको प्रदेश हो, तर आज कर्णालीका गाउँहरु खाली भएका छन्, युवाहरु विदेशिएका छन्, हामीले मिहेनत गर्ने हो भने कर्णालीको माटोमा सुन फलाउन सकिन्छ।’
नेता शाहीले कर्णाली बदल्नका लागि राजनीतिक दलहरु र वौद्धिक वर्गलाई दलीय स्वार्थभन्दा माथि उठ्न आग्रह गरे।
राजनीतिक पावरका आधारमा भन्दा पनि साझेदारीका आधारमा यसको विकासमा लाग्न जरुरी रहेको उनको भनाई छ।
‘युवा रोजगार र समृद्धिका विषयमा सबै एकताबद्ध हुन आवश्यक छ, हामीले युवालाई विदेश नजाउ भनेपनि देशमा रोजगारी दिन सकिने अवस्था छैन्,’ उनले भने, ‘कर्णाली प्रदेश सरकारले युवा वर्गको क्षेत्रमा काम गर्न आवश्यक छ, युवाहरुलाई उत्पादन, उद्यमशिलताका क्षेत्रमा आकर्षण गराउने खालका कार्यक्रमहरुको जरुरी देखिन्छ।’
परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुरु भएको कर्णाली युवा महोत्सव शनिबारसम्म चल्नेछ ।
महोत्सवमा कर्णालीको विकासमा युवाको भूमिका, युवा उद्यमशिलता र सिर्जनशिलता लगायतका विषयमा प्रेरणादायी सत्रहरु सञ्चालन हुनेछन् ।