सुर्खेत। कोरियन भाषा प्रशिक्षक हरि कँडेलले आफ्नो जन्मदिनको अवसरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। आइतबार आफ्नो जन्मदिनको अवसरमा वीरेन्द्रनगर–१० पिपीरामा रहेको गंगामाला आधारभुत विद्यालयमा कोष स्थापना गरेका हुन्।
उक्त कोषबाट विद्यालयले जेहनदार, विपन्न र अभिभावकविहीन बालबालिकाका लागि खर्च गर्ने कँडेलले बताए।
‘विद्यालयमा अध्ययनरत विपन्न, जेहनदार तथा अभिभावक नभएका बालबालिकाहरुलाई अध्ययनमा थोरै भएपनि राहत पुगोस् भन्ने मेरो उद्देश्य हो, यसबाट आउने ब्याजबाट यस्ता विद्यार्थीलाई समानरुपमा सहयोग होस्,’ उनले भने, ‘विद्यार्थी छनोट गर्ने र सहयोग गर्ने जिम्मा भने विद्यालयलाई हुनेछ।’
कँडेलले कोरियत तथा अन्य भाषा प्रशिक्षणका लागि वीरेन्द्रनगरमा ट्रष्ट एजुकेशनल सेन्टर सञ्चालन गरिरहेका छन्। उनी देशभरका कोरियन भाषा प्रशिक्षकहरुको संगठन ‘कोरियन भाषा संघ’ का केन्द्रीय सहसचिव समेत हुन्।
कँडेलले कोरियन भाषा प्रशिक्षणसम्बन्धी पुस्तकहरुसमेत प्रकासन गरेका छन्।
कर्णाली टाइम्स
सोमवार, माघ १४, २०८१