सुर्खेत। देशभर माघ २२ गतेदेखि फागुन ६ गतेसम्म लगाईने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप –एचपिभी) अभियानअन्तर्गत कर्णालीका १ लाख २० हजार किशोरीलाई यो खोप लगाईदैछ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशका १० वटा जिल्लाका एक लाख २० हजार ५१० जना किशोरीलाई यो खोप लगाउने लक्ष्य राखिएको छ। यीमध्ये २१ हजार ६५७ जनाले नियमित खोपका रुपमा लगाउनेछन् भने नियमित खोप अतर्गत, ९८ हजार ८५३ जनाले अभियानमार्फत खोप लगाउने भएका छन्।
एचपिभी खोपअन्तर्गत कर्णालीमा लक्षित किशोरीमध्ये २८ हजार ३४० जना सुर्खेतका मात्र रहेका जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए।
यस्तै मुगुका ४ हजार ३७९, डोल्पाका २ हजार ६४१, हुम्लाका ३ हजार ७३६, जुम्लाका ८ हजार ८२९, कालीकोटका ११ हजार ९२३, रुकुम पश्चिमका १२ हजार १०६, सल्यानका १४ हजार ५१३, जाजरकोटका १५ हजार ९५२ जना र दैलेखका १८ हजार ९१ जनालाई एचभिपी खोप लगाउने लक्ष्य राखिएको छ।
दुर्गम क्षेत्रका किशोरीहरुले खोप पाउने सुनिश्चित गर्न कर्णाली प्रदेशमा स्थानीय तह र स्वास्थ्य संस्थाहरुसँग समन्वय गरिएको कार्यालयले जनाएको छ।
तथ्याङ्कअनुसार विश्वभर ५ लाखभन्दा बढी महिला पाठेघरको मुखको क्यान्सरबाट प्रभावित छन्। यही कारण विश्वभर बर्षेनी ३ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ।
नेपालमा हरेक वर्ष २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर संक्रमण हुने गरेको छ। औसतमा नेपालमा दैनिक ४ जना महिलाले यो रोगका कारण ज्यान गुमाइरहेका विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ।
एचपिभी खोप पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिएको छ। विश्व स्वास्थ्य संगठन र नेपालको औषधि व्यवस्था विभागले यसको प्रयोगका लागि स्वीकृति दिएको छ।
यो खोप विद्यालयमा ६ देखि १० कक्षासम्म अध्ययन गरिरहेका किशोरी र विद्यालय नजाने १० देखि १४ बर्ष उमेर समूहका किशोरीलाई लगाईन्छ।