सुर्खेत। आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु भएको छ। यो निशुल्क लगाईने खोप हो।
आजदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक यो खोप दिन थालिएको हो। देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य छ।
खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
कर्णाली प्रदेशमा यो खोप एक लाख २० हजार ५१० जना किशोरीलाई लगाईदैछ। यीमध्ये २१ हजार ६५७ जनाले नियमित खोपका रुपमा लगाउनेछन् भने नियमित खोप अतर्गत ९८ हजार ८५३ जनाले अभियानमार्फत खोप लगाउने भएका छन्।
एचपिभी खोपअन्तर्गत कर्णालीमा लक्षित किशोरीमध्ये २८ हजार ३४० जना सुर्खेतका मात्र रहेका छन्।
मुगुका ४ हजार ३७९, डोल्पाका २ हजार ६४१, हुम्लाका ३ हजार ७३६, जुम्लाका ८ हजार ८२९, कालीकोटका ११ हजार ९२३, रुकुम पश्चिमका १२ हजार १०६, सल्यानका १४ हजार ५१३, जाजरकोटका १५ हजार ९५२ जना र दैलेखका १८ हजार ९१ जनालाई एचभिपी खोप लगाउने लक्ष्य राखिएको छ।
दुर्गम क्षेत्रका किशोरीहरुले खोप पाउने सुनिश्चित गर्न कर्णाली प्रदेशमा स्थानीय तह र स्वास्थ्य संस्थाहरुसँग समन्वय गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
तथ्याङ्कअनुसार विश्वभर ५ लाखभन्दा बढी महिला पाठेघरको मुखको क्यान्सरबाट प्रभावित छन्। यही कारण विश्वभर बर्षेनी ३ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ।
नेपालमा हरेक वर्ष २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर संक्रमण हुने गरेको छ। औसतमा नेपालमा दैनिक ४ जना महिलाले यो रोगका कारण ज्यान गुमाइरहेका विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ।
एचपिभी खोप पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिएको छ। विश्व स्वास्थ्य संगठन र नेपालको औषधि व्यवस्था विभागले यसको प्रयोगका लागि स्वीकृति दिएको छ।