सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा भोलि (सोमबार) देखि कर्णाली उत्सव सुरु हुँदैछ। २०७६ सालदेखि सुरु भएको कर्णाली उत्सवको यो छैटौं संस्करण हो। उत्सवको पाँचौं संस्करणसम्म बुलबुले उद्यानमा सञ्चालन गरिएको थियो। अहिलेको छैटौं संस्करण भने सिटी हलको प्राङ्गणमा हुने भएको छ।
‘कर्णाली उत्सव ..कुडा कर्नालीका’ नाम दिईएको उत्सवको छैटौं संस्करणको तयारी पूरा भएको आयोजक ऋति फाउण्डेशनले जनाएको छ।
उत्सवको पहिलो दिन बिहान १२ उद्घाटन हुनेछ। भौतिक पूर्वाधार राज्यमन्त्री गमता विकले उत्सवमा आउनेहरुलाई स्वागत गर्नेछिन्। उद्घाटन सत्रअन्तर्गत केवलप्रसाद भण्डारीले उत्सवको बारेमा जानकारी दिने छन भने वैदेशिक रोजगारी र सुरक्षित आप्रवासनका विषयमा बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले मन्तव्य राख्नेछन्।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले नीति उत्सवको औचित्यका विषयमा मन्तव्य राख्नेछन्।
उद्घाटन सत्रकै क्रममा ‘मान्ठ र मइडो’ शिर्षकको एउटा विद्वत प्रवचन रहनेछ। उक्ता प्रवर्चन राजनीतिक विश्लेषक आहुतीले प्रस्तुत गर्नेछन। उद्घाटन सत्रकै बीचमा मुख्यमन्त्री यामलाल कँडेलले संघीयताका विषयमा मन्तव्य राख्नेछन्।
छैटौं संस्करणमा उच्च शिक्षा, अनुसन्धान र विकास, कर्णालीमा महिला आन्दोलन, खस भाषामा युवाहरुको सक्रियता, नारी नेतृत्व, स्याउ खेती, अर्थतन्त्र, संघीयता, मधेश र कर्णाली प्रदेशको सम्बन्ध, जिल्ला सदरमुकामका इतिहास, वीरेन्द्रनगर उपत्यकाको इतिहास र वर्तमान अवस्था, राजनीतिमा सक्रियता, खेलकुद जस्ता विषयमा समूह छलफल गरिने आयोजक ऋति फाउण्डेशनले जनाएको छ।
पहिलो दिन ‘के पढ्यौं, के पढायौं?’, ‘स्वाइनी स्वर’, ‘खस कुडा, खास कुडा’, ‘नारी नेतृत्वः बैकिनी बोल्लिछन्’ शिर्षकमा समूह छलफल गरिनेछ।
दोस्रो दिन ‘स्याउको सह’, ‘आशलाग्दो अर्थतन्त्र’, ‘छोरीको छहारी’, ‘टेको संघीयताको’, ‘कर्णालीमा मधेश’ शिर्षकमा समूह छलफल हुनेछ।
यस्तै तेस्रो दिन ‘खलंगाः शक्तिको सदरमुकाम’, ‘चौघान चर्चा’, ‘राजनीतिः रहर–लहड’, ‘मनउँदो कर्णाली, मैदानउँदो कर्णाली’ शिर्षकमा समूह छलफल गरिनेछ।
उत्सवका क्रममा प्रत्येक दिन विद्वत प्रवचन, पैकेलो, सांगितीक साँझ रहनेछन्।
विद्वत प्रवचनमध्ये पहिलो दिन ‘मान्ठ र मइडो’ शिर्षकमा राजीनीतिक चिन्तक आहुतीले प्रवचन गर्नेछन्। दोस्रो दिन ‘कर्णालीको बोली’ शिर्षकमा अध्येता प्रा. डा. जीवेन्द्र गिरी र तेस्रो दिन ‘लोकतन्त्र–लोकमन्त्र’ शिर्षकमा राजनीतिक विश्लेषक हरि शर्माले प्रवचन राख्नेछन्।
पहिलो दिन रंगकर्मी गोविन्द सुनार, दोस्रो दिन रक्तदाता प्रवासकुमार शाक्य, तेस्रो दिन दीपा रानाले पैकेलोको रुपमा आफ्नो कथा प्रस्तुत गर्नेछन्।
सोमबारदेखि बुधबारसम्म चल्ने कर्णाली उत्सवको छैटौं संस्करण सेतोपाटीबाट प्रत्यक्ष प्रसारण हुनेछ।