मंगलबार, बैशाख ९, २०८२

आहुति भन्छन्– सयौं बर्ष पुराना शासकले देखाएको बाटोमा हिँडेर कर्णालीको प्रगति हुँदैन

  
कर्णाली टाइम्स सोमवार, फागुन ५, २०८१


सुर्खेत। राजनीतिक चिन्तक विश्वभक्त दुलाल ‘आहुति’ ले कर्णालीले आफ्नो सभ्यता र पहिचानसहितको बाटो निर्धारण गर्नुपर्ने बताएका छन्। सुर्खेतमा सोमबारदेखि सुरु भएको कर्णाली उत्सवमा विद्वत प्रवचन दिँदै आहुतिले पाँच सय बर्षअघि शासकले देखाएको बाटो हिँडेर कर्णालीको समुन्नति असम्भव रहेको बताए।

‘हामीले राजा महेन्द्रले सुरु गरेको भूगोल, नदी, पहाडको आधारमा ठाउँहरुको पहिचान दिने, त्यहाँको भाषा, सम्यतालाई टुक्र्याउने रणनीति अहिले पनि अँगालेका छौं,’ उनले भने, ‘कर्णाली क्षेत्रले विद्रोह र पहिचानको बाटो आफैं बनाउनुपर्छ, पाँच सय बर्ष अघिका शासकले देखाएको बाटोमा हिँड्दा कर्णालीलाई क्षति पुग्छ।’

कर्णालीसँग भव्य सभ्यता भएपनि अघि बढ्न नसक्नु सदियौं पुरानो बाटोमा हिँड्नुको नतिजा भएको उनको भनाई छ।

कर्णालीका नदीनालामा अन्य क्षेत्रका मानिसले विद्युत उत्पादनको अनुमति लिनु, आफूसँग भएका सभ्यता र सम्पत्तिमा आफैंले दावी गर्न नसक्नु कर्णालीको कमजोरी भएको आहुतिले बताए। यस्तो विषयमा बहस जरुरी रहेक उनले औंल्याए।

‘कर्णालीलाई अशिक्षित भनिएको छ, म इन्कार गर्छु। यो बेलायतीहरुले स्कुल खोल्नुपर्छ भनेर लादिएको भाष्य हो,’ उनले भने, ‘कर्णालीको मार्सी उत्पादन गर्ने शिक्षा कर्णाली आफैंले सिकेको हो, यस्ता थुप्रै शिक्षा कर्णालीले हाँसिल गरेको छ।’

कर्णाली समाजका विविध आयामसँग सम्बन्धित ‘मान्छ र मइडो’ शिर्षकमा विद्वत प्रवचन राखेका आहुतिले कर्णालीमा तीन हजार बर्षअघि आएका व्यासी र दोप्चाहरुले मानव वस्ती सिर्जना गरेको दावी गरे।

कर्णाली क्षेत्रमा खसहरुको आगमन २२ सय बर्षअघि आईसकेको उनको दावी छ।

भारतमा भएका खस समुदाय गंगा मैदान हुँदै कर्णाली प्रवेश गरेपछि कर्णालीमा खस सभ्यता स्थापित भएको उनले बताए।
‘खसहरु कोदो लिएर आएका थिए, उनीहरुले धामी संस्कृतिसहितको भव्य सभ्यता निर्माण गरे,’ आहुतिले भने, ‘१२ औं सताब्दीपछि यहाँ क्रमसः वैदिक आर्यहरु आएपछि खस आर्यभित्र पनि जात व्यवस्था निर्माण गरे।’

नेपालमा जाती, वर्णको व्यवस्थाको सुरुआत पनि कर्णालीबाटै भएको उनको दावी छ। यहाँबाट निम्तिएको जात व्यवस्थाले दलित, महिला पीडित हुनुपरेको उनले बताए।

‘कर्णाली भन्दा यहाँका पिरमा बाँचेका दलित, छाउपडीमा बाँचेका महिला चिनिन्छन्,’ उनले भने, ‘उपेक्षामा परेको सिंगो कर्णालीले सिंगो पञ्चायत पनि व्यहोर्नुप¥यो, पञ्चायतले हाम्रो सभ्यतालाई टुक्रा पारेर क्षेत्रको नामाकरण गरिदिएको थियो।’

पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि कर्णालीका सम्पन्न मानि पूर्व सरेको र यो क्षेत्रमा निमुखाहरुको बस्ती बाँकी रहेको आहुतिले दावी गरे।

कर्णालीको भाषाले नेपाली भाषाको शब्दकोष भरिएको भएपनि कर्णालीकै मानिस अहिले पनि खस भाषा बोल्न अप्ठ्यारो मान्नु दुखद भएको उनले बताए।