मंगलबार, बैशाख ९, २०८२

सचिव अर्याल र सभामु गुरुङ भन्छिन्– महिला नेतृत्वमा पुग्नु नारी आन्दोलनको परिणाम हो

  
कर्णाली टाइम्स मंगलबार, फागुन ६, २०८१


सुर्खेत। कर्णाली उत्सव कुडा कर्णालीका छैटौं संस्करणको पहिलो दिन ‘बैकिनी बोल्लिछन्’ सेसनमा नारी नेतृत्वबारे चर्चा भयो। कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ र सञ्चार तथा सूचना सञ्चार प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालसंग संवाद गर्दै थिइन्, अभियन्ता मीना बुढाथोकी।

मुलुककै पहिलो महिला प्रदेश सभामुख बन्न सफल नन्दा गुरुङले कलिलै उमेरमा बिहे अनि छोराछोरी सानै छँदा श्रीमानको मृत्यदेखि राजनीतिमा गर्नुपरेका संघर्षका पोकाहरु सुनाइन्।

‘अहिले सभामुखको भूमिकामा छँदा समेत घरायसी कामको व्यवस्थापन गरेर आउनुपरेको छ,’ उनले भनिन्, ‘एकल महिलालाई पार्टी राजनीतिमा झनै चुनौती छ, जसको बयान गरेर साध्यै छैन्।’

सुरुमा आफूले पढ्न नपाउदा परिचय दिन डराएको उनले सम्झिईन्। त्यसपछि आफूले अर्कोपटक ‘बोल्न डराउने छैन’ भनेर आफूलाई प्रतिवद्ध गराएकी थिईन्।

उनले आफू सभामुख हुनु महिला आन्दोलनको एउटा उपलब्धीका रुपमा लिएकी छन्। ‘म नेतृत्वमा पुग्नु भनेको कर्णालीका महिलाहरुका लागि प्रेरणा हो, यो नारी आन्दोलनको एक उपलब्धी पनि हो।’ उनले भनिन्।

आफू सभामुख बनेपछि प्रदेश सरकारलाई महिलासम्बन्धी एकिकृत कानुन ल्याउन निर्देशन दिएको गुरुङले बताईन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको सन्दर्भमा महिलाले भोग्नुपरेको समस्या एकै खाले रहेको बताइन्।

‘सुमगमा अलि कम होला, तर समस्या देशभरको एउटै हो,’ उनले भनिन्, ‘म भन्दा अगाडिको तीन जना दिदीहरु विद्यालय नै जान पाउनुभएन, दाजुले पढाइको महत्व बुझेकोले होला उहाँले म र मेरो बहिनीलाई विद्यालयमा पढ्ने वातावरण बनाउनुभो ।’
नौ वर्ष शिक्षक भएर काम गरेकी अर्यालले उच्च शिक्षा अध्ययनपछि मात्र निजामती सेवा प्रवेश गरेको बताईन्।

शिक्षा र स्वास्थ्य, सूचनाको पहुँचमा समान अवसर र क्षमता विकासमा जोड दिन सके महिलाहरुलाई नेतृत्वमा पुग्न सहज हुने सचिव अर्यालले बताईन्।