सुर्खेत। जुम्लाकी नारायणी चौलागाई आफैले व्यावसायिक स्याउ खेती गर्न थालेको १९ वर्ष भयो। यद्यपि उनको परिवारले भने २०२६ सालदेखि नै स्याउ खेती गर्दै आएको थियो। पछिल्ला केही वर्षयता जुम्लाको स्याउले बजार पाएको दावी भइरहँदा कृषक चौलागाईंले भने जलवायु परिवर्तन, सडक अवरोध, बजार नीतिका कारण किसानले उचित मूल्य पाउन नसकेको गुनासो सुनाइन्।
मंगलबार सुर्खेतमा आयोजित कर्णाली उत्सवको छैटौं संस्करणमा ‘स्याउको सह’ सत्रमा वक्ताका रुपमा सहभागी चौलागाईंले कर्णालीका समग्र स्याउ किसानका समस्या र सम्भावनाबारे सुनाइन्।
उनले जुम्लालाई स्याउ विशेष क्षेत्र घोषणा गर्नुपर्ने धारणा राखिन्। उनले भनिन्, ‘कर्णालीलाई अर्गानिक घोषणा गरिएको छ, अब स्याउमा प्रयोग गर्नैपर्ने विषादी हामी पाउँछौं वा पाउँदैनौं, हाम्रो भविष्य के हुन्छ भन्ने यो घोषणाले अन्योलमा पारेको छ।’
प्रविधि हस्तान्तरण गर्दा ५० प्रतिशत लगानी कृषकले गर्नुपर्ने भनिएपनि दुर्गमका कृषकले त्यो लगानी आफैंले गर्न सक्ने अवस्था नरहेको उनले बताईन्।
‘हामीले उत्पादन गरेको स्याउ अहिले देशभित्रै बजारमा बेचेका छौं, यदि हामीले उद्योग स्थापना गरेर स्याउलाई गुणस्तर बनाएर अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सक्यौं भने अझ धेरै मूल्य पाउन सक्छौं,’ उनले भनिन्, ‘राज्यले उचित नीति र सडक सञ्जाललाई भरपर्दो बनायो भने कर्णालीका स्याउ कृषकले हजारौं रोजगारी सिर्जना गर्न सक्ने क्षमता राख्दछौं।’
स्याउ व्यवसायी प्रबलले उत्पादनमा गुणस्तर नहुनु, ग्रेडिङ नहुनु, सडकको गुणस्तर लगायतका चुनौती रहेको बताए। कृषकले उत्पादन गरेको स्याउलाई विभिन्न शीर्षकमा राखेर बजारीकरणको ग्यारेण्टी गर्न हामी व्यवसायी तयार रहेपनि राज्यबाट सहयोग नभएको गुनासो गरे। स्याउबाट बन्ने पेय पदार्थ कम्पनीहरुसँग समन्वय गराएर पूर्ण रुपमा उत्पादन खपत गराउन पहल भएपनि सरकारले यसका लागि सुरक्षा ग्यारेण्टी गर्न नसकेको उनको भनाई छ।
कृषि प्रसार अधिकृत धनबहादुर कठायतले १० वटा प्रांगारिक मलले स्याउको उत्पादन बढेको पाइएकाले रासायनिक मलको जरुरी नभएको बताए। उनका भनाईमा विगतमा जुम्लाको स्याउलाई जति राम्रो मानिन्थ्यो, अहिले त्यो गुणस्तर कायम गर्न सकेको छैन्।
जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद देवेन्द्रबहादुर शाहीले सडकको पहुँचपछि स्याउको बजारीकरण गर्न सहज भएको बताए। जुम्लासँगै स्याउ फल्ने अपर कर्णालीलाई स्याउ जोन बनाउन, प्रदेश सरकारलाई स्याउ बोर्ड गठन गर्न आवाज उठाउँदै आएको जनाए।