सुर्खेत। वीरेन्द्रनगरमा सोमबारदेखि चलिरहेको कर्णाली उत्सवमा विश्वविद्यालय र प्रतिष्ठानका तीन जना उपकुलपतिबीच उच्च शिक्षाको बारेमा चर्चा चल्यो। उच्च शिक्षा, अनुसन्धान र विकासको विषयमा केन्द्रित सत्र ‘के पढ्यौं, के पढायौं?’ शिर्षकको सत्रमा तीन जना उपकुलपतिबीच उच्च शिक्षा, विद्यार्थीका लागि सम्भावना, मेडिकल शिक्षा लगायतका विषयमा छलफल भयो।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. धुव कुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर बज्राचार्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल सत्रमा सहभागी थिए। छलफलको सरुमा बोलेका उपकुलपति गौतमले कर्णालीमा अध्ययन गरेका विद्यार्थीहरुलाई क्षमताअनुसारको जति पनि अवसर रहेको बताए।
‘विद्यार्थीहरुलाई रोजगारीमा जोड्ने खालको शिक्षा दिनुपर्छ, अहिले पनि हाम्रा विद्यार्थीहरु अब्बल बन्दै गएका छन्,’ उनले भने, ‘अर्को अर्थमा भन्ने हो भने विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थीहरु हामी उत्पादन गरिरहेका छौँ, कर्णालीका विद्यार्थीलाई अवसरै अवसर छन।’
मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधीका कार्यक्रम पनि सञ्चालन गरेकोले अझ दक्ष र अनुभवी जनशक्ति कर्णालीबाट उत्पादन गर्न सकिने दावी उनले गरे। कृषि, बाली विज्ञान, इञ्जिनियरिङ, हाइड्रो र आइसिटीका कार्यक्रम सञ्चालन गरेर अहिले पनि विश्वविद्यालयले बजारमा बिक्ने र टिक्ने खालका जनशक्ति उत्पादन गरिरहेको उपकुलपति गौतमले बताए।
‘हामीले कानुनका क्षेत्रमा जशक्ति उत्पादन गर्न अध्ययन गराएका छौं, नीति निर्माण तहमा सहयोग गर्न नीति प्रयोगशाला सञ्चालन गरेका छौं,’ उनले भने, ‘परम्परागत ज्ञान, सीपको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि कर्णाली ज्ञान केन्द्र सञ्चालनमा छन्, यी कुरा अहिलेको शिक्षामा आवश्यक कुरा हुन्।’
नेपालका विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा रहेको भन्ने आलोचनाको खण्डन् गर्दै उनले विश्वविद्यालयले दिएको शिक्षा अनुसारको रोजगारीको अवसर सिर्जना गर्ने काम राज्यको भएको बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले ग्रामीण क्षेत्रमा मेडिकल शिक्षा अध्ययन गराउने जुम्ला विश्वमा नमुना रहेको दावी गरे। ‘जुम्ला जस्तो ग्रामीण र विकट क्षेत्रमा मेडिकल शिक्षाको पढाई विश्वमै बिरलै हुन्छ, हामीले भूगोल र पहुँचका हिसाबले कठिन मानिएको क्षेत्रमा पनि चिकित्सक उत्पादन गरिरहेका छौं।’
उनले प्रतिष्ठानलाई औपचारिक मेडिकल शिक्षामा मात्र सीमित नगरी स्वास्थ्य प्राविधिक क्षेत्रमा अनुसन्धान र ज्ञान हस्तान्तरणका लागि कार्यक्रम सञ्चालन गरिरहेको बताए।
‘कर्णाली क्षेत्र उच्च मूल्यका औषधीय स्रोतको क्षेत्र मानिन्छ, दुखको कुरा यहाँको जडीबुटी कौडीको भाउमा निर्यात भई महंगो औषधि भएर यतै भित्रिन्छ,’ डा. रावलले भने, ‘अब हामीले कर्णालीको जडीबुटीको कर्णालीमै अनुसन्धान, प्रशोधन गरी औषधि कारखाना खोल्न सक्नुपर्छ।’
प्रतिष्ठानले यसका लागि फार्मेसी विद्यालय, उच्च मुल्य औषधि अनुसन्धान सेन्टर जस्ता संरचना स्थापना गर्ने योजना बनाईरहेको उनले बताए। नेपालमा चिकित्सा शिक्षा पढाई हुने कलेज पर्याप्त भएपनि सीमित कोटाका कारण विद्यार्थीहरु विदेश जानुपरेको सुनाए।
चिकित्सा शिक्षा पढ्न चाहनेलाई स्वदेशमै शिक्षा दिएर रोजगारीका लागि कुनै पनि देशमा जान दिनुपर्ने योजनामा राज्यले काम गर्नुपर्ने डा. रावलले बताए।
नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. शिलु मानन्धर बर्जाचार्यले शिक्षा क्षेत्रमा काम गर्ने निकायले सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञानमा बढी जोड दिनुपर्ने औंल्याईन्।
‘कुनै पनि विद्यार्थी दीक्षित भइसकेपछि सम्बन्धित विषयमा सीप, ज्ञानले दक्ष हुनुप¥यो, तबमात्र बजारमा रोजगारी पाउने सम्भावना रहन्छ,’ उनले भनिन्, ‘सकारात्मक सोच राखेर शिक्षाका कार्यक्रम विकासमा पनि उत्तिकै जोड दिनुपर्छ।’ कर्णालीका विद्यार्थीका लागि उच्च शिक्षाको पर्याप्त अवसर रहेको उपकुलपति मानन्धरले बताइन्।