बुधबार, बैशाख १०, २०८२

कर्णालीको पहिलो महिला विमान चालक सिर्जना भन्छिन्– कर्णालीका नारी सक्षम भएको देख्न चाहन्छु

  
कर्णाली टाइम्स बुधबार, फागुन ७, २०८१


सुर्खेत। सिर्जना रावत अन्तर्राष्ट्रिय उडान गर्ने विमान चालक हुन्। सुर्खेतको वीरेन्द्रनगर–६ की सिर्जना सम्भवतः कर्णाली प्रदेशको पहिलो महिला विमान चालक हुन्। एसएलसी दिँदै पाइलट बन्ने सपना बुनेकी सिर्जनालाई उनको मेहनत, परिवारको सहयोग र साथीभाईको हौसलाले सपना पूरा गर्न मद्दत पुगेको हो।

उनै सिर्जनाले अहिले कर्णाली उत्सवको छैटौं संस्करणमा आफ्नो पाइलट यात्राको कथा ‘पैकेलो’ का रुपमा सुनाईन्।

सिर्जना २०६३ सालमा विद्यालय स्तरीय परीक्षा एसएलसीमा सहभागी भएकी थिईन्। त्यसअघि उनले सुर्खेतको प्रतिष्ठित बोर्डिङ स्कुलमा अध्ययन गरेकी हुन्। एसएलसीमा उनी टपर भईन्।

‘एसएलसी दिँदै गर्दा विमान चालक बन्ने सपना बुनिसकेकी थिएँ, एसएलसीपछि म काठमाडौं पढ्न गएँ,’ उनले भनिन्, ‘भाग्यवस मेरा जन्म छोरीलाई पढाउनुपर्छ भन्ने परिवारमा भयो, मेरो रहर पूरा गर्न बुवाआमाले पढाउनुभयो र सपना पूरा गरेँ।

काठमाडौंको बसाईका क्रममा प्लस टु गरिसकेपछि सिर्जना तालिम लिन साउथ अफ्रिका गईन्। त्यहाँ उनले सफलतापूर्वक विमान चालकको तालिम पूरा गरिन्। विमान चालकको तालिम पूरा गर्दा आफूल जीवनको ठूलो खुशी प्राप्त गरेको महसुश भएको सिर्जना बताउँछिन्।

‘पाईलट भएँ भनेर म अत्यन्त खुशी थिएँ, मेरो परिवार र समाज पनि अति खुशी थियो,’ उनी भन्छिन्, ‘तालिम पूरा गरेपनि मैंले जहाज उडाउन भने निकै संघर्ष गर्नुप¥यो, हरेक दिन म र बुवा फाईल बोकेर एकेक बायुसेवा कम्पनीमा धाउनुपर्यो।’

काम नपाएपछि उनी सुर्खेत फर्किएर स्नातक पढ्न थालिन्। उनले स्नातक तह पूरा गर्ने अन्तिम चरणमा हुँदा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले पाइलटका लागि विज्ञापन खोल्यो।

दुई सय जना पाइलट प्रतिस्पर्धामा थिए। लोकसेवाले लिएको पाइलटको परीक्षामा सिर्जना सफल भईन् र निगमबाटै एअरबस उडानको तालिम लिन इन्डोनेसिया पुगिन्। इन्डोनेसियामा दुई महिनाको उक्त तालिम पूरा गरेर उनी नेपाल फकिईन्।

आफूले जीवनमो चाहेको कुरा ढिलै भएपनि प्राप्त गर्न सफल भएको उनले बताईन्।

उनको विमान चालकको अनुमतिपत्र अनुमोदन नहुँदै कोभिड महामारी सुरु भयो। महामारीका कारण भएको लकडाउनलाई सदुपयोग गरेर उनले स्नातकोत्तर गरिन्।

उनले वायुसेवा क्षेत्रकै व्यक्तिसँग विवाह गरेकी छन्।

‘कुनै बेला मेरो केही देशहरु सपनाको संसार हुन्थे, ती देशहरु अहिले आफ्नो कामको शिलशिलामा पुग्न पाएको छु,’ सिर्जना भन्छिन्, ‘उड्यन क्षेत्र यस्तो फिल्ड हो, त्यसको कार्यालयका आकाशमा हुन्छ। ३५ देखि ३८ हजार फिट माथी आकाशमा खाना–खाजा खाने अनुभूति मैंले गरिरहेको छु। यसमा म खुशी छु।’

आफ्नो उडानका क्रममा कर्णाली क्षेत्रबाट जाने यात्रु भेटिँदा उनीहरुले आफूप्रति देखाउने माया र कदरले थप हौसला मिलेको उनी बताउँछिन्।

कर्णालीका महिलाबारे सिर्जना भन्छिन्– आगामी दिनमा कर्णालीका अरु चेलीहरु पनि मजस्तै सक्षम भएको देख्न चाहन्छु। कर्णालीका नारीहरु सक्षम छन् भनेर देखाउने अवसर राज्य र समाजले देओस्।