सुर्खेत। मुगुको रारा ताल छेउमा रहेको डाँफे होटलमा आगलागी भएको छ। बुधबार राति पौने एक बजे होटलमा आगलागी हुँदा पाँच वटा घरटहरा जलेर नष्ट भएका छन्।
होटलमा लागेको आगो प्रहरी लगायतका सुरक्षाकर्मीको सहयोगमा करिब चार बजे नियन्त्रणमा लिईएको थियो।
छायानाथ रारा नगरपालिका–९ रारा तालनजिक रहेको उक्त होटलमा भएको आगलागीमा परि होटल सञ्चालक पूर्वसांसद गोपाल बम सामान्य घाइते भएको छ जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिए।
काठले बनेका घरटहरा भएकाले आगलागीबाट पूर्ण जलेको उनले बताए।
होटलमा रहेका पाहुनाहरु आगलागी भएको थाहा पाएपछि भागेको र केहीलाई सुरक्षाकर्मीले उद्दार गरेको प्रहरी निरीक्षक आचार्यले बताए। होटलमा गएराति कति पाहुना बसेका थिए भन्ने खुलेको छैन।
होटलमा भएको आगलागीबाट २ करोड बढीको क्षति भएको आँकलन गरिएको छ। ‘होटलका संरचना तथा त्यसभित्र भएका सरसामान जलेर नष्ट भएको मुचुल्का गरिएको छ,’ आचार्यले भने, ‘अहिलेसम्म भएको टिपोट अनुसार २ करोड ३ लाख २५ हजार रुपैयाँ बराबरको क्षति आगलागीबाट भएको आँकलन गरिएको छ।’
प्रहरी निरीक्षक आचार्यका अनुसार होटलमा भएका तीन वटा कुकुर पनि आगलागीमा परि मरेका छन्।