सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अबको विकास कार्य युवाहरुको मनोविज्ञानलाई बुझेर गर्नुपर्ने बताएका छन। शनिबार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको ग्रेटर घण्टाघर निर्माण सम्बन्धी छलफलमा सहभागी भएका मुख्यमन्त्री कँडेलले युवाहरुलाई प्रत्यक्ष सहभागी गराएर उनीहरुको चाहनाअनुसार काम गर्नुपर्ने बताए।
‘हामीले गर्ने विकासमा युवा मनोविज्ञानलाई ध्यान दिन सके दीगो र समयानुकुल विकास हुन्छ,’ उनले भने, ‘विकासका हरेक कार्यमा युवाहरुको उल्लेख्य सहभागिता र उनीहरुको चाहनालई बुझ्ने प्रयास गर्नु जरुरी छ।’
वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भएकाले यो क्षेत्रमा हुने विकास निर्माणको सिकाइ अन्य पालिकालाई हुनुपर्ने कँडेलले बताए।
जनभावना अनुसार दीगो र वातावरणमैत्री विकास गर्नुपर्नेमा उनले जोड दिए। वीरेन्द्रनगरका सार्वजनिक जमिन अहिले मात्र नभएर आउने पुस्ताका लागि समेत भएकाले यहाँ गरिने निर्माणका कार्य प्रभावकारी हुनुपर्ने उनले औंल्याए।
‘सोचबिचार गरेर आउने पुस्तालाई पनि उपभोग गर्नेगरि यहाँको जमित बचाएर राखिदिनु हाम्रो दायित्व हो,’ मुख्यमन्त्री कँडेलले भने, ‘जनप्रतिनिधिहरुले कम लागतमा राम्रो गुणस्तरसहितको संरचना बनाउनेतिर ध्यान दिनु आजको आवश्यकता हो।’
कर्णाली टाइम्स
शनिबार, फागुन १७, २०८१