सुर्खेत। नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले दलका नेताहरुले अन्य देशसँग सहयोग मागेर देशलाई डुबाउनतर्फ लागेको आरोप लगाएका छन्। सोमबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव चन्दले नेताहरुले अरु देशसँग भिख मागेजसरी सहयोग मागिरहेको टिप्पणी गरे।
‘गफ चुट्ने नेताबाट रुपान्तरण सम्भव छैन, विदेशीको भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्ध हुँदैन,’ उनले भने, ‘अहिले देशको उत्पादनले दुई महिना खान नपुग्ने नेपाल भइसक्यो, यो अवस्थाले देशलाई विदेशीको एजेन्ट बनाउनतर्फ अग्रसर गराउँछ।’
उनले कम्युनिस्ट नेताहरुमा आवारा प्रवृति हावी भएको आरोप लगाउँदै आफ्नो दल उत्पादको अभियानमा होमिएको बताए। राजनीतिक आन्दोलनलाई उत्पादन, आर्थिक क्रान्तिमा जोड्न सके परिवर्तन सम्भव रहेको उनले बताए।
‘कृषि क्रान्तिलाई अगाडि बढाउन सकियो भने राम्रो परिणाम ल्याउन सकिन्छ भनेर हामी लागेका छौं, अहिले हाम्रो पार्टीमा चन्दा माग्नुपर्ने अवस्था छैन। डेढ वर्षमा नै राम्रो बनाइसकेका छौं।’ विप्लवले भने।
उनको दलले संयुक्त रुपमा कालीकोटमा भेडा फर्म खोलेको छ। जनताले आफूहरुलाई सहयोग गरेको र आगामी दिनमा अरु उत्पादनमुलक उद्योग पनि पार्टीले सञ्चालन गर्ने उनले बताए।