सुर्खेत। कर्णाली प्रदेश अस्पतालले २ बर्षको अवधिमा ६ जनाको मृगौला प्रत्यारोपण गरेको छ। प्रत्यारोपण सेवा सुरु भएयता सुर्खेतबाट विभिन्न क्षेत्रका ६ जनाले यो सेवा लिएका हुन्। सबै प्रत्यारोपण सेवा सफल भएको अस्पतालले जनाएको छ।
नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिएको हो।
कर्णालीमा प्रत्यारोपण सेवा सुरु भएपछि अरु प्रदेशका नागरिकले पनि सेवा लिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए।
प्रदेश अस्पतालमा पहिलो पटक २०७९ माघ २१ पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो । तयसअघि २०७८ चैत १० गते सहित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दै र अस्पतालबीच यो सेवा सुरु गर्ने सम्झौता भएको थियो।
अस्पतालले अहिले भएकाबाहेक अरु विशेषज्ञ सेवा पनि विस्तार गर्ने तयारी गरेको निर्देशक डा. केशर ढकालले बताए।
पछिल्लो पटक प्रदेश अस्पतालमा क्यान्सर रोगको उपाचारका लागि अंकोलोजी सेवा सञ्चालन गरिएको छ। यसका अलावा शल्यक्रियाका थप सेवा विस्तार गरिएको छ।
मुटु रोग निदान उपचारका लागि क्याथल्याब सेवाको परीक्षण सम्पन्न भइसकेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. केशर ढकालले बताए।