सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयले यसपटक तीन हजार ८४१ जना विद्यार्थीलाई दिक्षित गर्दैछ। फागुन २३ गते हुने विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।
विभिन्न सात वटा विधामा स्नातक , स्नाताकोत्तर, दर्शनाचार्य तह पूरा गरेका विद्यार्थी दिक्षित हुने विश्वविद्यालयका डिन लिलाधर तिवारीले जानकारी दिए। उनका अनुसार स्नातक तहका २ हजार १८९ जना, स्नातकोत्तर तहका १ हजार ६३३ जना र दर्शनाचार्य तहका १९ जना विद्यार्थी दिक्षित हुनेछन्।
मध्यपश्चिम बिश्वविद्यालयमा सन् २०२२, २०२३ र २०२४ को पासआउट ब्याचबाट उक्त संख्यामा विद्यार्थी दिक्षित हुन लागेको उनले बताए।
विश्वविद्यालयले हाल ९ वटा बिषयमा स्नातक तथा १३ वटा विषयमा स्नाकोत्तर अध्यापन गराउँदै आएको छ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा हुने समारोहमा सहकुलपति शिक्षामन्त्री विद्या भट्टराई पनि सहभागी हुनेछन्। छिमेकी मुलुका भारतको सिक्कीम केन्द्रीय विश्वविद्यालयका उपकुलपति प्रा. डा. महेन्द्र पी लामा पनि तेस्रो दिक्षान्त समारोहमा सहभागी हुने डिन तिवारीले जानकारी दिए।
समारोहमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जनालाई कुलपति पदक, स्नातक तहमा उत्कृष्ट भएका ३ जनालाई उपकुलपति पदक, ग्राजुएट स्कुलहरुबाट स्नातकोत्तर तहमा डिन लिष्टमा परेकाहरु ११ जना, स्नातक तहबाट १८ जनासहित ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित पदक पाउनेछन्।
मध्यपश्चिम विश्वविद्यालय २०६७ साल असार ३ गते ऐन जारी भएपछि सञ्चालनमा आएको हो।
हाल विश्वविद्यालयअन्तर्गत सात वटा केन्द्रीय विभाग छन्। बाग्मती, लुम्बिनी र कर्णालीमा गरि १० वटा आंगिक क्याम्पस सञ्चालनमा छन्।