बुधबार, बैशाख १०, २०८२

एसईईमा कर्णालीका ३७ हजार विद्यार्थी सहभागी हुँदै

  
कर्णाली टाइम्स बुधबार, फागुन २१, २०८१


सुर्खेत। माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि कर्णाली प्रदेशभर १८० परीक्षा केन्द्र तोकिएको छ। कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार २०८१ सालको एसईई परीक्षामा कर्णाली प्रदेशबाट ३७ हजार ९११ विद्यार्थी सहभागी हुँदैछन्।

नियमिततर्फ ३१ हजार ८०४, ग्रेडवृद्धितर्फ ६ हजार १०७ र प्राविधिकतर्फ १ हजार ३४२ विद्यार्थी सहभागी हुने निर्देशक निर्देशक दीपा हमालले जानकारी दिईन्।

गत बर्ष कर्णालीबाट ३५ हजार ८०८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। यो वर्ष झण्डै दुई हजार विद्यार्थी थपिएको निर्देशनालयले जनाएको छ।

गत वर्ष कूल विद्यार्थी संख्याको ५८ प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउनेगरी ननग्रेडेड भएका थिए।

कर्णालीमा यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न एक करोड ३९ लाख ३० हजार पाँच सय रुपैयाँ खर्च हुने निर्देशनालयले जनाएको हो।

कर्णालीका १० जिल्लामध्ये एसईईमा सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागी हुँदैछन्। सुर्खेतबाट नौ हजार ५१३ विद्यार्थीले एसईई परीक्षा दिने निर्देशनालयले जनाएको छ।