मंगलबार, बैशाख ९, २०८२

दोस्रोपटक मिति सरेको दशौं खेलकुद कहिले हुन्छ?

  
कर्णाली टाइम्स सोमवार, फागुन २६, २०८१


सुर्खेत। कर्णाली प्रदेशमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तोकिएका मिति दुईपटक सरेका छन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भएपछि दशौं प्रतियोगिता कर्णालीमा गर्नेगरि झण्डा हस्तान्तरण गरिएको थियो। कर्णाली प्रदेशमा २०८१ मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता गर्ने मिति तोकेको थियो। यसैको तयारीस्वरुप वीरेन्द्रनगरमा कर्णाली प्रदेश रंगशाला निर्माण थालिएको थियो।

समयमै रंगशाला निर्माण नभएको लगायतका विविध कारण पहिलोपटक तोकिएको मिति सरेको थियो। त्यसपछि यही बर्षको चैत २३ देखि ३० गतेसम्म प्रतियोगिताको मिति तोकियो। दोस्रोपकट पनि मिति सरेको छ। यो आर्थिक बर्षभित्रै प्रतियोगिता गर्ने योजनाअनुसार २०८२ जेठ ३ देखि १० गतेसम्मको मिति तय भएको छ।

मूल आयोजक समितिका संयोजक रहेका खेलकुद मन्त्री तेजुलाल चौधरीले दुई पटकको मिति सरेर जेठमा तोकिएको प्रतियोगिता जसरी पनि सम्पन्न गर्न लागिपरेको बताएका छन्। ‘जेठमा भएन भने यो आर्थिक वर्षमा खेलकुद प्रतियोगिता गर्न सम्भव छैन्,’ आइतबार कर्णाली रंगाशालामा दशौं प्रतियोगिताका लागि स्थापना गरिएको सचिवालयको उद्घाटनका क्रममा उनले भने, ‘भाग्दाभाग्दा जेठमा आइपुगेका छौँ, जेठमा भएन भने खोलामा हाम फाल्न मात्रै बाँकी छ।’

उनले सोमबारभित्र सात वटै प्रदेशका मुख्यमन्त्री, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव र विभागीय टोलीलाई तयारीका लागि पत्राचार गरिने बताए।

सार्वजनिक खरिद ऐन अनुसार ठेक्कालगायतका प्रक्रिया सुरु भइसकेको र तयारीका लागि गठन गर्नुपर्ने अरु समितिहरु पनि छिट्टै गठन गरिने मन्त्री चौधरीले बताए। खेलकुदको मिति जेठ ३ गतेदेखि १० गतेसम्म भएपनि खेलहरु पनि एक साता अघिदेखिनै सुरु हुने आश्वासन दिए।

‘जेठको महिना छ, गर्मी हुन्छ, मौसमले पनि साथ नदेला,’ उनले भने, ‘उद्घाटनको एक साता अगाडिबाटै खेलहरु खेलाउँछौँ, तालिका लामो भएपनि खेलकुद प्रतियोगिता गरेरै छोड्छौँ।’

राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने कर्णाली प्रदेशमा खेलकुद परिषद् सदस्यसचिव रिक्त रहेकोप्रति मन्त्री चौधरीले चिन्ता व्यक्त गरे। छिट्टै सदस्य सचिव नियुक्त गर्न पनि उनले प्रदेश सरकारलाई आग्रह गरे।
‘कर्णाली प्रदेश आयोजक मात्रै होइन्, खेलाडी छनोटका लागि तयारी पनि गर्नुपर्ने दोहोरो भूमिकामा छ,’ उनले भने, ‘यस्तोमा सदस्यसचिव नहुँदा समस्या हुन्छ, चाँडोभन्दा चाँडो सदस्यसचिव नियुक्तिको प्रक्रिया सुरु गर्नुहोस्।’

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दशौं राष्ट्रिय खेलकुद कर्णालीले आयोजना गर्न पाउनु खुशीसँगै केही प्राविधिक समस्या पनि रहेको बताए। ‘जिल्लाका खेलकुद समितिले कार्यालय सञ्चालन खर्च पाइराखेका छैनन्, यस्तोमा खेलाडी छनोटलगायतका काममा समस्या देखिएको छ,’ उनले भने, ‘ढिलो काम हुनु भनेको नहुनु बराबर हो त्यो कुरा बुझ्न जरुरी छ।’