बुधबार, बैशाख १०, २०८२

सञ्चारकर्मीको हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध सुर्खेतमा विरोधसभा

  
कर्णाली टाइम्स शनिबार, चैत्र १५, २०८१


सुर्खेत। शुक्रबार राजावादीहरुले गरेको आन्दोलनका क्रममा सञ्चारकर्मीको हत्या भएको विषयमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले शोक तथा विरोधसभा गरेको छ। शनिबार शाखाले वीरेन्द्रनगरस्थित पिपलचौतारामा शोक तथा विरोधसभा गरेको हो।
शाखाले आन्दोलनका नाममा सञ्चारकर्मीको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमण निन्दनीय भएको भन्दै आपत्ति जनाएको छ।
पूर्वराजा समर्थकहरुको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।
राजावादी निकटको आन्दोलनले हिंसाको रुप लिएको पत्रकार महासंघ सुर्खेत शाखाले ठहर गरेको छ। व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागी समूहले शुक्रबार तीनकुनेमा गरेको आगजनीमा परि रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो।
आन्दोलनकारीहरुले शुक्रबार विभिन्न अन्नपूर्ण पोष्ट, कान्तिपुर टिभी लगायतका सञ्चारगृहमा आक्रमण गरेका थिए। यस्ता घटना हुनेगरि भएको आन्दोलनको नेतृत्वकर्ता र हिंसात्मक कार्यमा संलग्नलाई कारबाही गर्न सुर्खेत शाखाले माग गरेको छ।