सुर्खेत। राजावादीहरुको आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको न्याय माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री र सुर्खेतका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गरिएको छ।
सोमबार महासंघको कर्णाली प्रदेश शाखाले मुख्यमन्त्री यामलाल कँडेललाई ध्यानाकर्षपत्र बुझाएको हो। सुर्खेत शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई घरभित्र थुनेर आगो लगाइ हत्या गरिएको हो। उक्त घटनाको विस्तृत अध्ययन र पीडितलाई न्यायको माग शाखाहरुले गरेका छन्।
सोही दिन कान्तिपुर टिभीमा तोडफोड र अन्नपूर्णपोष्टको कार्यालयमा आगजनी गरिएको थियो। रिपोर्टिङमा खटिएका पत्रकार दिनेश गौतममाथि कुटपिट गरेर खुट्टा भाँचिएको थियो।आन्दोल
नका नाममा प्रेस जगतमाथि हुने यस्ता खालका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन महासंघले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ।