बुधबार, बैशाख १०, २०८२

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी

  
कर्णाली टाइम्स मंगलबार, चैत्र १८, २०८१


सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न मतपरिणामअनुसार नेविसंघबाट अध्यक्ष उम्मेदवार विवेक खड्काको प्यानल नै विजयी भएको हो।

सोमबार भएको मतदानमा नेकपा एमालेनिकट अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्।

शाहीलाई २८० मतान्तरले पछि पार्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचित खड्काले १ हजार १८७ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी शाहीले ९०७ मत ल्याएका छन्।

माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट स्ववियुको अध्यक्ष पदका उम्मेवार प्रकाश विकले २७५ मत पाएका छन्। अध्यक्षका अर्का उम्मेदवारहरु मिलन बिसीले २३१ मत प्राप्त गरेका छन्।

विश्वविद्यालयका ४ हजार ३८३ मतदातामध्ये २ हजार ८६४ जनाले मतदान गरेका थिए। मध्यपश्चिम विश्वविद्यालयको स्ववियु सचिवमा भूपेन्द्र आचार्य र कोषाध्यक्षमा लोकप्रसाद रिजाल नेविसंघबाटै निर्वाचित भएका छन्।