बुधबार, बैशाख १०, २०८२

एमाले सुर्खेतले वीरेन्द्रनगरमा जनसभा गर्दै

  
कर्णाली टाइम्स आइतवार, चैत्र २३, २०८१


सुर्खेत। नेकपा एमालेले सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गर्ने भएको छ। एमालेको सुर्खेत जिल्ला कमिटीको आयोजना र कर्णाली प्रदेश कमिटीको संयोजनामा चैत २६ गते मंगलबार वीरेन्द्रनगरको पिपलचौतारामा जनसभा गर्न लागिएको हो।

‘लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा ऐक्यवद्धता जनाऔं, वृहत जनप्रर्दशनसहितको जागरणसभामा सहभागी बनौं’ भन्ने नाराका साथ एमालेले सभा गर्न लागेको हो।

एमाले महासचिव शंकर पोखरेलले सभालाई सम्बोधन गर्ने एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए। संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध षडयन्त्र गर्ने संयन्त्रका विरुद्ध पार्टीले जनसभा गर्न थालेको उनले बताए।

‘सरकारमा रहेरपनि आवश्यक पर्दा सडकमा जानुपर्ने अवस्थालाई आत्मसाथ गर्दै एमालेले प्रतिक्रान्तिकारी गतिविधिहरुलाई परास्त गर्ने संकल्प गरेको छ,’ देवकोटाले भने, ‘नेपाली जनताका लागि कुनैपनि प्रकारको निरंकुशता, पश्चगमन र वंशगत आधारमा सामन्तीतन्त्र अस्वीकार्य छ।’

लोकतन्त्रविरोधी अराजकता र मुलुकलाई अस्थिर बनाइराख्ने क्रियाकलापका विरुद्ध एमालेले देशभर जनजागरण अभियान गरिरहेको उनले बताए।

उक्त सभा पिपलचौतारामा दिउँसो २ बजे हुनेछ भने त्यसअगाडि मंगलगढी चोकबाट १ बजे ¥याली निकालिने प्रदेश इन्चार्ज इन्चार्ज गोरख बोगटीले जानकारी दिए।