बुधबार, बैशाख १०, २०८२

सात घण्टाको फरकमा जाजरकोटमा दुई वटा भूकम्प

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २, २०८२


सुर्खेत। जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् ।

सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंकलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको करिब साढे ७ घण्टापछि बिहान ४ बजेर ५३ मिनेटमा अर्को भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान पनि कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने आइसकेको छैन।

यसअघि गत चैत २१ गते साँझ ८ बजेर ७ मिटेर र ८ बजेर १० मिनेट जाँदा सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको थियो। पहिलो भूकम्प ५.२ र दोस्रो भूकम्प ५. ५ म्याग्निच्युडको थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो।

पछिल्लो समय पश्चिम नेपाललाई केन्द्र बनाएर साना–साना भूकम्प गइरहेका छन्। गत चैत २० गते दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।