शुक्रबार, जेष्ठ ३, २०८२

चामुण्डामा प्रथम बालिका सम्मेलन

समाजमा व्याप्त कुप्रथा अन्त्य गर्ने प्रतिबद्धता

  
कर्णाली टाइम्स सोमवार, बैशाख ८, २०८२


सुर्खेत। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा प्रथम बालिका सम्मेलन सम्पन्न भएको छ। ‘सशक्त बालिका, समावेशी समाज: हाम्रो सपना, हाम्रो अभियान’ भन्ने नारासहित चामुण्डामा प्रथम बालिका सम्मेलन आयोजना गरिएको हो।

चामुण्डाबिन्द्रासैनी नगरपालिका, सेभ द चिल्ड्रेन र सोसेक नेपालसँगको साझेदारीमा नगर बाल सञ्जालले सम्मेलन आयोजना गरेको हो।

बालबालिकाको सर्वा‌ंगिण विकासमा टेवा पुर्याउने बालविवाह, छाउपडी, बालश्रम जस्ता समाजमा व्याप्त समस्या समाधानसहित बालिकाको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ बालिका सम्मेलन आयोजना गरिएको थियो।

नगरस्तरीय प्रथम बालिका सम्मेलनलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले शिक्षाको गुणस्तर वृृद्धि, बालबालिकाहरुको क्षमता विकास र सामाजिक परिवर्तनमा विकास साझेदार संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले समाजमा व्याप्त बालविवाहलाई न्युनिकरण गर्नेगरि सहकार्य गर्न साझेदार संस्थाहरुलाई आग्रह गरे। अहिले ग्रामिण भेगमा रहेको छाउपडी प्रथा महिलाहरुको समृद्धिको बाधक बनेको मन्त्री शाहले औंल्याए। समाजमा रहेको कुप्रथा अन्त्यको प्रयास दशकौं अघिदेखि भएपनि सफल नभएको उनले बताए।

छाउपडी प्रथा अन्त्यका लागि समाजमा अभिभावकहरु प्रतिबद्ध हुनुपर्ने नगरप्रमुख गणेशकुमार शाहीले बताए। यस्तो कुप्रथा अन्त्यका लागि नागरिकको चेतनास्तरमा परिवर्तन ल्याउन आवश्यक भएको उनले बताए। बालबालिकाको अधिकार सुनिश्चितताका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको मेयर शाहीले बताए।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बालिकाहरुको अधिकार संरक्षण, उनीहरुको व्यक्तिगत सम्मान र समावेशी विकास सुनिश्चित गरिनुपर्ने औंल्याए। बालबालिकाको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्ने दायित्व राज्यको भएकाले राज्य यसमा गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।

प्रथम बालिका सम्मेलनमा गरिएको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न नगर बाल सञ्जालका अध्यक्ष रेश्मा विकले आग्रह गरे।

राष्ट्रिय जनगणना २०७८ का अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिकाको कुल २६ हजार ५ सय ५९ जनसंख्यामध्ये ११ हजार ६ सय ८० बालबालिका छन्। तीमध्ये ४९.८१ प्रतिशत बालिकाको संख्या रखेको जनगणनाको तथ्याङ्कले देखाउँछ। गरिबि, पारिवारिक विखण्डन, अपांगता, हिंसा, दुव्र्यवहार जस्ता कारण नगरपालिकाभित्र करिब ८३५ जना बालबालिकाहरु जोखिममा रहेको तथ्याङ्कले देखाएको छ।