सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको प्रजान्त्रवादी प्राध्यापक संघले उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमलाई ज्ञापनपत्र बुझाउदै ७२ घण्टे अल्टिमेटम दिएको छ। विश्वविद्यालयको केन्द्रीय क्याम्पस इकाई समितिले १६ बुँदे माग राख्दै आन्दोलन गर्ने चेतावनी दिएको हो।
उपकुलपतिले एकलौटी ढंगले कार्यकारी सदस्य नियुक्तिको लागि गरेको सिफारिस बदर गर्नुपर्ने माग संघले राखेको छ।
कार्यकारी परिषदले गत चैत २२ गते विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नारायणनाथ योगीलाई कार्यकारी परिषद सदस्य नियुक्त गर्न सिफारिस गरेको थियो।
उपकुलपति अध्यक्ष रहने कार्यकारी परिषदमा डीनमध्येबाट लिलाधर तिवारी सदस्य छन्। उपप्राध्यापकमध्येबाट योगीलाई नियुक्त गर्न सिफारिस गरिएको हो। योगी यसअघि विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति तथा द्वन्द्व र शान्ति अध्ययन विभागका प्रमुख थिए।
संघले विश्वविद्यालयको कार्यकारी परिषदमा एकलौटी नियुक्तिको निर्णय भएको भन्दै त्यसलाई तत्काल फिर्ता लिनुपर्ने माग राखेको छ।
लामो समयदेखि विश्वविद्यलयमा कार्यरत आंशिक प्राध्यापकको व्यवस्थापन प्रक्रिया तत्काल सुरु गर्नुपर्ने, करार उपप्राध्यापकहरुको पेशागत सुनिश्चितताका लागि आन्तरिक प्रक्रियामार्फत स्थायी गर्ने प्रक्रिया अघि बढाउनुपर्ने, प्राध्यापकहरुको कक्षभार संशोधन गरी तत्काल त्रिभुवन विश्वविद्यालय सरहको कायम गर्नुपर्ने माग संघले राखेको छ।
विश्वविद्यालयका आंगिक क्याम्पस समायोजन हुँदा स्थायित्व प्रक्रियामा छुटेका प्राध्यापक तथा कर्मचारीको यथाशिघ्र सेवा आयोगमार्फत स्थायित्व प्रक्रिया सुरु गर्नुपर्ने, करार जनशक्तिबाट डिन, डाइरेकटर लगायत पदाधिकारी बनाउन बन्द गर्नुपर्ने, विश्वविद्यालयका अनावश्यक रुपमा आर्थिक भर पर्नेगरि स्थापना भएका संस्थाहरु आपसमा गाभ्नुपर्ने लगायतका माग पनि संघले राखेको छ।