सुर्खेत। उच्च अदालत सुर्खेतले नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा प्रतिवादीहरुले पाएको जन्मकैदको सजाय सदर गरेको छ।
मंगलबार अदालतका न्यायाधीशहरु सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले घटनामा संलग्न २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो। जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको छ।
उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाका अनुसार इजलासबाट फैसलामा आंशिक उल्टी भएको छ।
यसअघि रुकुम जिल्ला अदालतले फैसला गर्दै २३ जनालाई जन्मकैदको सजाय गरेको थियो। जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरेको थियो। त्यसलाई उच्च अदालतले बदर गरेको हो। यस्तै पीडितले पाउनुपर्ने क्षतिपूर्ति पनि सदर भएको हो।
यो घटनामा डम्बरबहादुर मल्ल (चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष), सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिका भनिएकी युवतिका बुबा परिवर्तित नाम ‘५४ रुकुम पश्चिम ३६’ (१) र दाजु ‘५४ रुकुम पश्चिम ३६’ (३) लाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।
उनीहरुको जन्मकैदको फैसला उच्च अदालत सुर्खेतले सदर गरेको हो।
जिल्ला अदालतले नवराजकी प्रेमिकाका भाइलाई उमेरका आधारमा २५ वर्षभन्दा कम कैद सजाय सुनाएको थियो। जन्मकैदको सजाय पाएकामध्ये ठकुरी समुदायका १७ जनालाई जातीय विभेदको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
नवराजकी प्रेमिका र उनकी आमालाई पनि जातीय विभेदमा दुई वर्ष कैद सुनाइएको थियो। तर प्रेमिका नाबालिग भएकाले एक वर्ष चार महिना मात्र कैद बसे पुग्ने जिल्ला अदालतले फैसला गरेको थियो। तर उच्च अदालतले जातीय विभेद कसुरको सजाय उल्टाएसँगै उनीहरुको सजाय बदर हुने फैसला गरेको छ।
यो फैसलाको पूर्णपाठ आउन बाँकी छ।
२०७७ जेठ १० गतेको जातीय नरसंहारका रुपमा लिइएको सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो।
उनीहरुको शव फरक फरक दिन, भेरी नदीको फरक फरक स्थानमा फेला परेको थियो।
घटना भएको तीन दिनमा २०७७ जेठ १३ गते पीडित परिवारले २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले तत्कालीन वडाध्यक्ष मल्लसहित २० जनालाई पक्राउ गरेको थियो। बाँकी १४ जनालाई पक्राउ परेकाहरुको बयानका आधारमा पक्राउ गरिएको थियो।
सरकारी वकिल कार्यालयमार्फत ३४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। उनीहरुमध्ये थुनछेक बहसका क्रममा नाबालक नवराजकी प्रेमिका र भाइसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो।
यस मुद्दामा जिल्ला अदालतले २०८० मंसिरमा २३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यो फैसलाविरुद्ध २०८० माघ २२ गते उच्च अदालत सुर्खेतमा पुनरावेदन परेको थियो। त्यसको अन्तिम फैसला मंगलबार भएको हो।
जिल्ला अदालतको फैसलामा यस घटनामा प्रतिवादीहरुले हुल बाँधेर लखेट्दै, हान्दै गरी ६ जनाको हत्या गरी भेरी नदीको भंगालोमा पु¥याएर कुटपिट गरेको खुलेको उल्लेख गरिएको थियो।
मंगलबार उच्च अदालत सुर्खेतले गरेको फैसलाविरुद्ध दलित अभियानताहरुले विरोध जनाएका छन्। उनीहरले फैसला आएलगत्तै अदालत परिसरमै नाराबाजी गरेका छन्।