सोमवार, कार्तिक १०, २०७७

लकडाउनमा डा. मल्लका सिर्जनात्मक अभिव्यक्ति

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ ४, २०७७

फूल थरिथरिका हुन्छन् । ती फूल आ–आफ्नो याममा फुल्छन् । सिर्जनाका फूल फुल्न पनि त्यस्तै अनुकूल मौसम चाहिन्छ । प्रायशः शान्त र मनोरम वातावरणमा सिर्जनाका फूल फुल्छन् । कोरोना प्रकोप र लकडाउन मानव जीवनको लागि हरेक दृष्टिले प्रतिकूल भए पनि साहित्य सिर्जनाका लागि भने उर्वर समय बनेको छ । यही मौकामा साहित्यकार डा. महेन्द्रकुमार मल्लले आफ्नो साहित्यरुपी बगैंचामा सुन्दर फूल फुलाएका छन् ।

आज  ! पहाडमा जूनको उज्यालो छिर्न सकेन
समथर फाँटहरु झुल्न सकेनन्
मेरो देश हिमचुलीझैं अल्गिन सकेन
नदीले घाम बनेर अन्धकार हटाउन सकेन
बेली र चमेली, स्याउ र सुन्तला फुल्न र फल्न सकेनन्

‘मुर्छित सपनाहरु’ शीर्षकको पहिलो ‘अभिव्यक्ति’ कवितामा डा. मल्लले बेली–चमेली, स्याउ र सुन्तला फुल्न र फल्न नसकेको न्यास्रो पोखे पनि लकडाउनमा भने थुप्रै सिर्जजनारुपी फूल फुलाएका छन् । ‘बदलिएछ !’ शीर्षकको कवितामा उनले राजनीतिज्ञको स्वभाव र प्रवृृत्तिमाथि तिखो व्यंग्य गरेका छन् ।

उसले,
अहिंसा र द्वन्द्ववादको व्याख्यान दियो
गान्धी र माक्र्सको सैद्धान्तिक ढाँचा सुनायो
आवाज, आग्रह, आन्दोलन र हतियारबाट
जनताको शासन ल्याएको उद्घोषण ग¥यो
कानूनले दिने न्यायको आवाज घन्कायो
ऊ मत पाएर मन्त्री बन्यो
मत दिनेहरु दुब्लाउँदै गए, ऊ मोटाउँदै गयो
प्रश्न उठ्दा,
उसले भन्यो– ‘यहाँ राजनीति बदलिएछ ।’

लकडाउनको बन्द कोठाभित्र भए पनि कवि मल्ल कल्पनाको खुला आकाशमा शयर गरेका छन् । लाग्छ– उनी मानवतालाई भौतिक रुपमा बाँधेको कोरोनारुपी लकडाउनबाट उम्केर छिट्टै खुला संसारमा रमाउन चाहन्छन् । ‘त्यसैले म आउनुछ’ शीर्षकको कवितामा भनेका छन्–

अब,
एकपल्ट फेरि फेवातालमा डुंगा चढ्नुछ
राराको स्वप्नसुन्दरतासँग पिरती गाँस्नुछ
फूलसँग मुस्कुराउन र मुनालसँग नाच्नुछ

नेपाली साहित्यमा पीएचडी गरेका डा. मल्लले लकडाउनकै अवधिमा १७ वटा सिर्जनात्मक अभिव्यक्ति आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् । ती अभिव्यक्तिलाई सामाजिक सञ्जालका अधिक पाठकले रुचाएका छन् । धेरैले लाइक, कमेन्ट र सेयर गरेका छन् । उनले केही गजल र मुक्तक पनि पस्केका छन् । एक गजलमार्फत भनेका छन्–

सिमाना दुश्मनले मिचिरहेको चिन्तामा छु म
उसलाई कुर्ची लान्छन् कि छिनाएर भन्ने डर छ
कि वार कि पारको युद्धको तयारीमा छ योद्धा
उतातिर पार्टी भाँड्छन् कि फुटाएर भन्ने डर छ

सामाजिक सञ्जालमा सार्बजनिक भएका मल्लका सिर्जना सशक्त छन् । समाज र राजनीतिलाई मात्र होइन, प्रेम र प्रकृतिलाई पनि सुवाषित बनाएका छन् सिर्जनारुपी फूलले । एक मुक्तक यस्तो छ–

ठूली भेरी कताकता सानी बगेको छ
रारा पनि ठूलै पीर मानी बगेको छ
घरभित्र भुक्ने कुकर बाहिर भुक्दैन रे
राजनीतिको नसामा त पानी बगेको छ

डा. मल्ल साहित्यकारमात्र होइनन्, एक कुशल प्राज्ञिक-प्रशासक र नेपाली भाषा-साहित्यका अध्येता पनि हुन् । वैचारिक अभिव्यक्तिमा जति स्पष्ट छन्, फेसबुकको भित्तामा सजिएका उनका सिर्जनाका फूलहरु पनि उत्तिकै सफा र सुगन्धित छन् ।