सोमवार, कार्तिक १०, २०७७

रोजगारी गुमाएर आएका मजदुर भन्छन्, कोरोनाले रोजगारी खोस्यो, कहिलेसम्म बेरोजगार बस्ने ?

  
जगतदल जनाला विक मंगलबार, असोज ६, २०७७
सांकेतिक तस्बिर ।

सुर्खेत । चौकुने गाउँपालिका –२ लगामका दीपक विक भारतमा कुक मेनको काम गर्थे ।

विश्वभर महामारीकारुपमा फैलिएको कोरोनाका कारण उनी स्वदेशमा फर्किए । भारतको सिमासम्म राम्ररी आएपनि आफ्नो भूमिमा आउन उनले धेरै संघर्ष गर्नु पर्याे । तीन दिनसम्म रुपडिया नाकामा अलपत्र परेका उनी जनतन आफ्नो गाउँको क्वारेन्टिनमा पुगे ।

२० दिनको क्वारेनटाइन बसाईपछि घरपुगेका उनलाई देखेर सबै घरपरिवार खुसी भए । ‘यस्तो महामारीमा परदेशमा के कसो हुन्थ्यो छोरो घर आयो’ भन्दै उनकी आमा पनि खुसी भइन् । तर भारतको मजदुरीले नै आठ जनाको जहान पालेका दीपकलाई भने मनमनै चिन्ता जागेको थियो, यहीँ बसेर आठ जनाको जहानलाई कसरी पाल्न सकिन्छ होला भन्ने ? भारतमा मासिक १८ हजारसम्म भारु कमाउने गरेका उनले कोरोनाका कारण होटेल बन्द भएपछि गाउँका साथीसँग सयकडा तीन रुपैयाँ ब्याजले १० हजार ऋण ल्याएर आसार पहिलो साता गाउँ आए ।

अहिले गाउँमा कुनैपनि रोजगारी नपाएको र सरकारले ल्याएका रोजगारीका कार्यक्रमहरु बारे पनि जानकारी नभएको भन्दै परिवारलाई बिहान बेलुकाको छाक टार्न समेत मुस्किल परेको दीपकले गुनासो गरे ।

‘भारतमा होटेलको कुक काम गरेर महिनामा १८ हजारसम्म कमाउँथे, त्यसैले आठ जनाको परिवारलाई पालनपोषण, पढाई खर्च र आमाको उपचार गर्न पुग्थ्यो,’ दीपकले भने, ‘यहाँ आएदेखि बेरोजगार छु, परिवारलाई साँझ बिहानको छाक टार्न समेत मुस्किल परेको छ ।’
लकडाउनकै बिचमा कर्णालीबाट भारत लगायत तेस्रो मूलुकमा रोजगारीका लागि गएका करिब ४० हजारभन्दा बढी नागरिक कर्णाली प्रदेशमा भित्रिएका छन् ।

कोरोना महामारीले भारतबाट रोजगारी गुमाएर घर फर्किए पनि गाउँमा रोजगारी नपाउँदा समस्या परेको पञ्चपुरी–६ का लोग बहादुर रोकायले बताए ।
आफ्नै गाउँघरमा रोजगारीका अवसर नपाउँदा बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता लागेको उनले गुनासो गरे ।
कालिकोट शुभकालिका गाउँपालिका–३ का डिल्लीप्रसाद चौलागाईं १८ वर्षदेखि भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत टिहरी गढवाल जान जान्थे ।

उनी हरेक वर्ष खेती लगाएर त्यहाँ ज्याला मजदुरी गर्न जान्थे । अनि बाली पाक्ने समयमा घर फर्कन्थे । तर यो वर्ष उनले सोचेजस्तो भएन ।
‘लकडाउन हुनुभन्दा केही दिनअगाडि मात्रै म घर आएको थिएँ । केही समय लकडाउन होला र त्यसपछि त्यहाँ रोजगारीका लागि जाउँला भन्ने सोचेको थिएँ । महामारीका कारण भारत त टाढाको कुरा भयो, जिल्ला सदरमुकामसम्म निस्कन सकेको छैन,’ उनले भने, ‘पाँच छोराछोरी र हामी दुई गरी सात जनाको परिवार भारतकै कमाइले पाल्दै आइरहेको थिएँ । अब अहिले छोरा छोरीलाई के दिऊँ के खुवाऊँ भइरहेको छ ।’

यस्तै दैलेखको आठबीस नगरपालिका –६ का उदयराम थापा भारतको बागेश्वरमा मासिक ३० हजार भारु कमाएउँथे । त्यो पैसाले उनको परिवारको जिविका चलेको थियो । यो वर्ष महामारीका कारण उनले रोजगारी गुमाएका छन् ।

‘रोजगारी कोरोनाले खोस्यो, परिवार र वृद्ध आमाबुवालाई कसरी पाल्ने ? हातमा कुनै सीप छैन । केही व्यवसाय गरौं भने आफूसँग पैसा छैन,’ थापाले भने, ‘भारत गएर तिरौंला भनेर गाउँमै ऋण कर्जा लिँदै आइरहेको छु ।’

उनीहरु त उदाहरणीय पात्र मात्रै हुन कर्णालीका हजारौं युवा तथा मजदुरहरुले कोरोनाका कारण रोजगारी गुमाएका छन् ।
सरकारले सञ्चालन विभिन्न स्वरोजगारका कार्यक्रममा आफुहरुको पहुँच नपुगेको नागरिकको गुनासो छ ।