सोमवार, कार्तिक १०, २०७७

सामाजिक क्षेत्रमा रमाएका शैलेन्द्र !

  
जगतदल जनाला विक आइतवार, असोज ११, २०७७

सुर्खेत । ललितपुरको छम्पीमा २०३८ साल भदौमा जन्मिएका शैलेन्द्र विष्टले सामाजिक क्षेत्रमा काम गर्न थालेको २२ वर्ष भयो ।

उनले भारतको नयाँ दिल्ली स्थित पब्लिक हेल्थ फाउण्डेशन अफ इन्डियाबाट जनस्वास्थ्य पोषणमा पोष्ट ग्राजुएट गरेका छन् ।

अहिले नेपालका विभिन्न ठाउँका विकट बस्तीहरुमा पोषणको काम गर्दै आएका विष्ट सामाजिक क्षेत्रलाई नै आफ्नो मुल कर्म सम्झिन्छन् ।

स्कुलदेखि क्याम्पससम्म विद्यार्थी राजनीतिमा होमिएका उनी नेपालको गरीवी, कुपोषण जस्ता समस्यालाई असल नागरिकले राजनीति भन्दा सामाजिक परिवर्तन समुदायमा नै गएर सेवा गर्नुपर्छ भन्ने मान्यता राखेर सामाजिक क्षेत्रलाई नै रोजेको बताउँछन् ।

२०५४ सालदेखि नै निरन्तर सामाजिक क्षेत्रमा कार्यरत विष्टले नेपालका ६७ जिल्लाका गाउँ–गाउँ सम्म पुगेर काम गरेका छन् । २२ वर्षसम्म काम गर्दै गर्दाका विभिन्न चुनौतीलाई पार गर्दै हाल कर्णाली प्रदेशमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषणको पैरवी कार्यक्रम स्याफ्रन नेपालमा कार्यरत छन् । पेसाका हिसाबले गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी भएपनि उनले समस्यामा परेका नागरिकलाई व्यक्तिगत र सामुहिक रुपमा सहयोग गर्ने भावना उनीसँग छ ।

विष्ट पछिल्लो समय कर्णालीका विकट तथा नेपालकै लोपउन्मुख राउटे समुदाय, सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा पहुँच पुर्याउन लागि परेका छन् । विश्वभर कोरोना भाइरसको आक्रान्त फैलिरहेका बेलामा पनि विष्ट भने कर्णालीका विकट र लोपउन्मुख समुदायको घर– घरमा गएर व्यक्तिगत, संस्थागत र सामुहिक सहयोगमा जुटेका छन् ।

तीन भाई, दुई दिदी बहिनी मध्येका चौथो सन्तान र घरको कान्छो छोरो भएकाले उनलाई सुरक्षा निकायमा जागिर खाएको हेर्ने बुवाको सपना थियो । तर उनलाई सामाजिक क्षेत्रले नै तान्यो ।

‘घरको कान्छो छोरो, मेरा बुवाको चाहाना थियो की मैंले आर्मी, प्रहरीमा जागिर खावस् । तर म स्कुले जिवनदेखि नै सामाजिक काममा धेरै रुचि राख्ने भएकोले यहि क्षेत्रमा रमाएको छु,’ विष्टले भने, ‘अहिले नेपालका धेरै ठाउँमा समस्यामा परेका नागरिकसँग काम गरेको देख्दा सबै परिवार खुसी छन् ।’

उनीसँग हिमालको मनाङ, पहाडको कर्णाली, तराईको कञ्चनपुरदेखि झापासम्म काम गर्ने क्रममा भोगेका तितामिठा अनुभवहरु पनि त्यति नै छन् ।

२०७२ को भकम्प होस् या २०७६ देखि हालसम्मको कोरोना महामारीको् संकटमा रातदिन भोक, तिर्खा नभनि दुःखमा परेकाहरुको घाउमा उनले निरन्तर मलम लगाउँदै आएका छन् । यति मात्र होइन, २०६२–०६३ अगाडीको विषम परिस्थिती र जनआन्दोलनमा आफ्नो ज्यान धरापमा राखेर भएपनि रोल्पा, रुकुम, बाजुरा, हुम्ला, जाजरकोट, कालिकोट, अछाम र सुर्खेत लगायतका विभिन्न जिल्लामा पोषण सुधारको काम गरेका थिए ।

सामाजिक कार्यमा विभिन्न अवसर सँगै चुनौती पनि रहेको विष्टले बताए । उनले देशका विभिन्न ठाउँका विभिन्न धार्मिक, सांस्कृतिक समुदायका नागरिकबिच सहकार्य गर्न पाउनु नै जिवनको ठुलो अवसर मानेका छन् ।

यस्तै सामाजिक क्षेत्रमा काम गर्दा राजनीतिक खिचातानी, सामाजिक काम प्रतिको बुझाइमा भेदभाव गर्नु जस्ता पक्षहरु चुनौती रहेको उनको बुझाई छ ।