शुक्रबार, बैशाख ७, २०८१

३ महिनामा सुर्खेतका १०२ जनामा डे‌ंगु संक्रमण

  
कर्णाली टाइम्स सोमवार, कार्तिक ३, २०७७

सुर्खेत । चालु आर्थिक बर्षको हालसम्म सुर्खेतका १०२ जना डेंगीबाट संक्रमित भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतमा पनि सबैभन्दा धेरै वीरेन्द्रनगरका मानिस डेंगीबाट संक्रमित भएका छन् ।
सफा पानीमा बस्ने एडिज प्रजातीको लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण ग्रामीण भन्दा पनि शहरी क्षेत्रमा धेरै फैलिने गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले बताए । ‘यो सफा पानीमा फुल पार्ने लामखुट्टेको टोकाईबाट डेंगी हुने भएकाले यो शहरी क्षेत्रमा धेरै संक्रमण देखिएको छ ।’ उनले भने ।
आर्थिक बर्ष ०७६÷७७ मा सुर्खेतका १३४ जनालाई डेंगी भएको थियो । अहिले पनि डेंगी संक्रमणको दर जिल्लामा गत आर्थिक बर्षको बराबर रहेको प्रमुख वाग्लेले बताए । उनका अनुसार यो आर्थिक बर्षको अहिलेसम्म डेंगीबाट मृत्यु भएको भएको छैन ।
जनस्वास्थ्य सेवा कार्यालयले वीरेन्द्रनगर नगरपालिकासँग सहकार्य गरी डेंगी सार्ने लामखुट्टेको लार्भा खोज्ने र मार्ने अभियान सुरु गरिएको छ । प्रमुख वाग्लेका अनुसार एक सातासम्म चल्ने यो अभियान सञ्चालन गर्न ७ सदस्यीय समिति पनि बनाईएको छ । ‘समितिले सम्बन्धित विषयमा सर्वसाधारणलाई जानकारी गराउने काम पनि गर्छ ।’ उनले भने ।
एडिज प्रजातीको डेंगी संक्रमित लामखुट्टेले टोक्दा सर्ने यो रोग तीन प्रकारको हुन्छ । यसको कुनै उपचार छैन । संक्रमितलाई देखिएको लक्षणका आधारमा मात्र उपचार हुने गरेको वाग्लेले बताए । यसको अवस्था गम्भीर भएमा प्लाज्मा विधिबाट समेत उपचार गर्नुपर्ने अवस्था आउँछ । कतिपय डेंगी संक्रमितहरुमा लक्षण समेत नदेखिने गरेको उनले जानकारी दिए ।
एक्कासी ज्वारो आउनु, ५ देखि ७ दिनसम्म नियमित ज्वरो आईरहनु, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांशपेशी, ढाड दुख्ने, शरीरमा विविरा आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुनु डेंगीका लक्षणहरु हुन् ।