शनिबार, बैशाख २२, २०८१

‘सिसी क्यामरा’को सहयोगले पक्राउ परे बालकलाई ठक्कर दिने मोटरसाईकल र चालक

सिसी क्यामरामा कैद भएको भिडियोको आधारमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेकाे हाे

  
कर्णाली टाइम्स बिहीबार, मंसिर ४, २०७७


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तीन बर्षीय बालकलाई ठक्कर दिएर भाग्ने मोटरसाईकल र चालक पक्राउ परेका छन् । मंसिर २ गते बेलुका ५ बजेतिर बालकलाई ठक्कर दिएर भागेका मोटरसाईकल र त्यसमा सवार दुई जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बिहिवार पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय नजिककै रहेको सिसी क्यामरा सहयोगी बनेको छ । त्यसमा कैद भएको भिडियोको आधारमा प्रहरीले मोटरसाईकल र सवार व्यक्तिलाई पक्राउ गरेको हो ।
फुटेजका आधारमा लगातार खोजी गर्नेक्रममा झण्डै ४६ घण्टापछि प्रहरीले मोटरसाईकल र त्यसमा सवार दुई जनालाई पक्राउ गरेको हो । उक्त क्यामरामा कैद भएको भिडियोका आधारमा प्रहरी नायव उपरीक्षक नेतृत्वको प्रहरी टोलीले उनीहरुको खोजी गरिरहेको थियो ।
‘सिसी क्यामरामा कैद भएको भिडियोमा मोटरसाईकलको गति धेरै देखिन्छ, मोटरसाईकलको पछाडि बस्ने मान्छेको पहेँलो जकेट लगाएको देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले भने, ‘फुटेजमा नम्बर स्पष्ट नभएकोले तत्काल पक्राउ गर्न कठिन भयो, मोटरसाईकलको मोडल र त्यसको अस्पष्ट नम्बरको आधारमा दुर्घटना गराउने व्यक्ति समात्न सफल भएका छौं ।’
पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालयमा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–५ का १८ बर्षीय जीवन चौहान र सोही ठाउँका १७ बर्षीय नविन भनिने अमर सलामी रहेका छन् । मोटरसाईकल चलाउने व्यक्ति भने जीवन चौहान रहेको एसपी भट्टले जानकारी दिए ।
प्रहरीले उक्त सिसी क्यामरामा कैद भएको जस्तो देखिने १२ वटा मोटरसाईकल नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका मोटरसाईकलको अनुसन्धान गर्ने क्रममा लु ६२ प ७००३ नम्बरको यामहा कम्पनीको ‘एफजेट एस भर्सन–२’ मोटरसाईकल दुर्घटनामा संलग्न भएको खुलेको हो ।
मंसिर २ गते बेलुका ५ बजे उक्त मोटरसाईकलको ठक्करबाट वीरेन्द्रनगर–१ बस्ने तीन बर्षीय बालक समीर नेपालीको मृत्यु भएको छ । बिहिबार २ बजे दुर्घटना गराउने ति दुई जनालाई पक्राउ गरिएको हो । मोटरसाईकल र चालक पक्राउ नभएपछि मृतकका आफन्तले बुधवार दिनभर सडकमा उत्रिएर आन्दोलन समेत गरेका थिए ।
‘आफन्तको आन्दोलनले हामीलाई जनशक्ति परिचालनमा समस्या भयो, तर केही जनशक्ति पीडकको खोजीमा लगाएका थियौं,’ एसपी भट्टले भने, ‘उहाँहरुको मेहनत र सिसी क्यामराको मद्दतले हामी पक्राउ गर्न सफल भएका छौं ।’
पक्राउ परेका दुवै जनालाई सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही हुने उनले बताए । उनीहरुसँग सवारी चलाउनका लागि आवश्यक कागजात भए÷नभएको खुलेको छैन । ‘उनीहरुले लाईसेन्स, ब्लुबुक छ भनेका छन्, हामीले ल्याउन भनेका छौं ।’ भट्टले भने ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा अहिले ७३ वटा सिसी क्यामरा जडान गरिएको छ । ७९ वटा क्यामरा जडान गर्ने प्रक्रिया चलेको भए पनि हालसम्म ७३ वटा जडान भई सञ्चालनमा रहेका छन् ।