शुक्रबार, बैशाख ७, २०८१

संविधानको पक्षमा कर्णालीको जनलहर उत्रिएको छ : माधव नेपाल

  
कर्णाली टाइम्स शुक्रबार, माघ ९, २०७७


सुर्खेत । प्रचण्ड–नेपाल समूहका नेकपा अध्यक्ष माधव कुमार नेपालले कर्णाली संविधानको पक्षमा जागेको बताएका छन् । बिहिवार सुर्खेतमा भएको भेलालाई सम्बोधन गरेको नेपालले शुक्रबार बिहान आयोजित एक कार्यक्रममा बोल्दै संविधानको पक्षमा कर्णालीबाट जनलहर उत्रिएको बताउ ।
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कु’ गरेकोले कर्णाली त्यसका विरुद्ध उभिएको दावी गरे । ‘ओलीको प्रतिगमनकारी कदमविरुद्ध हिजो कर्णालीमा अपार जनप्रदर्शन सम्पन्न भयो,’ उनले भने, ‘कर्णाली जागेको छ, योसँगै अब देशै जाग्छ ।’
नेता नेपालले आफ्नो समूह आधिकारिक नेकपा भएको समेत दावी गरे । ‘हामी आधिकारीक हौं, दुई तिहाइभन्दा बढी केन्द्रीय कमिटी, स्थायी कमिटी हामीसँगै छ,’ उनले भने, ‘अबको एक/दुई दिनमा प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारवाही गर्दैछौं ।’
अध्यक्ष नेपालले ओलीको एकलौटी पनले देशलाई भड्खालोमा हालेको बताए । ‘ओलीलाई न देशको चिन्ता छ, न त संविधानको,’ उनले भने, ‘उहाँबाट जनताको चाहनामाथि कुठाराघात भएको छ, संविधान मिचिएको छ । यो कदम गलत भएको कर्णालीबाटै पुष्टी भईसक्यो ।’