शनिबार, कार्तिक १०, २०८१

आमा र छोराछोरीको शव पोष्टमार्टम गर्न अछाम लगियो, एक छोरीको अवस्था अज्ञात

  
कर्णाली टाइम्स मंगलबार, फागुन २५, २०७७


सुर्खेत । दैलेखको आठविस नगरपालिकास्थित कर्णाली नदीमा भेटिएका चारवटा शव पोष्टमार्टम गर्न अछामको मंगलसैन लगिएको छ । शव भेटिएका आमा, दुई छोरी र एक छोराको मंगलबार बेलुका उनीहरुलाई मंगलसैन लगिएको हो ।
उनीहरु दैलेखका भएपनि शव अछामतर्फको नदी किनारमा भेटिएकोले मंगलसैनमा रहेको जिल्ला अस्पतालमा लिने निर्णय गरिएको आठविसकोट नगरपालिका–३ का वडा अध्यक्ष प्रयाग शाहीले जानकारी दिए ।
आईतबार बेलुका ४ बजे घरबाट निस्किएका आठविस नगरपालिका–३ निमायलकी सुकी बडुवाल र उनका चारजना छोराछोरीमध्ये ४ जनाको कर्णाली नदीमा शव भेटिएको थियो । मदिरा सेवन गरी घर गएका श्रीमान मानसिंह बडुवालसँग झगडा भएपछि श्रीमति सुकी बडुवालले घाँस काटन जाने निहुँमा छोराछोरी लिएर निस्किएको वडा अध्यक्ष शाहीले बताए ।
उनीहरुले भेरी नदीमा हाम फालेको आशंका गरिएको छ । श्रीमान मानसिंह भने प्रहरीको नियन्त्रणमा छन् ।
आईतबार बेलुकादेखि हराईरहेका उनीहरुमध्ये दुई छोरीहरु १४ बर्षीया कल्पना बडुवाल र ११ बर्षीय सरिता बडुवालको सोमबार बेलुका शव भेटिएको थियो । मंगलबार बिहान आमा सुकी र ८ बर्षीय छोरा ललित बडुवालको शव भेटिएको थियो । उनीहरु सबैको शव डोरीमा बेरिएको अवस्थामा भेटिएको थियो ।
कान्छी छोरी ५ बर्षकी रजनी बडुवालको अवस्था भने अझसम्म पनि अज्ञात नै रहेको वडा अध्यक्ष शाहीले बताए । आमा र छोराको शव पनि दुई बहिनीको शव भेटएको स्थान नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।